मर्जर किङ 

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
पछिल्लो समय वाणिज्य बैंकहरू गाभिने र गाभ्ने प्रक्रिया धमाधम चलिरहेको छ । कुनै बैंक आफूभन्दा ठूलो बैंकमा विलय भएका छन भने कुनै बैंक अझ बलियो बनेर परिसकृत भएका छन । यसै वर्ष मात्र १० वटा वाणिज्य बैंक एकअर्कासँग जोडिएका छन। यसले वाणिज्य बैंकहरूको संख्या २० मा सीमित भएको छ । त्यसो त मर्जर एण्ड एक्वीजिसनको काम त्यती सजिलो भने हुँदैन । कर्मचारी व्यवस्थापन, स्वाप रेसियो मिलान देखि सिस्टम मेन्टेनेन्ससम्म सबैतिर यसले प्रभाव पार्दछ । यही मर्जरको भिडमा ग्लोबल आइएमई बैंकले बैंक अफ काठमान्डूसँग मर्ज गर्दै आफुलाई नम्बर वानको ताज पहिर्‍याउन सफल बन्यो । त्यसो त ग्लोबल आइएमई बैंक समग्र बैंकिङ्ग क्षेत्रमै सबैभन्दा धेरै मर्जर गर्ने बैंकमध्यकै एक हो । हालसम्म यसले २१ टा संस्थाहरुसँग प्राप्ती तथा मर्जर सम्झौता  गरेको छ । तर ग्लोबल आईएमई बैंक वाणिज्य बैंकहरूमा कान्छो बैंकमध्यमा पर्छ । यो बैंक स्थापना भएको १६ वर्ष पूरा भएको छ । यती छोटो अवधिमा पुँजीको हिसावले नम्बर वान बनाउन बैंकका अध्यक्ष चन्द्र ढकालको विशेष हात छ । चाखलाग्दो व्यवसायीक छलाङ्ग मारेका चन्द्र ढकालको इतिहास जति संर्षपूर्ण छ सफलता पनि त्यतीकै रोचक छ ।
\"\"
मर्जर किङ: चन्द्र ढकाल यसरी सावित भए 

साँचिकै भन्ने हो भने उनलाई ‘मर्जर किङ’ को उपाधि नै दिएपनि खासै फरक भने नपर्ला । ८२ वर्षको नेपालको बैंकिङ इतिहासमा छोटो समयमै २१ वटा संस्थाहरुलाई मिलन गराउने किङ चन्द्र ढकाल नै हुन । बैंक, वित्त, बीमा, जलविद्युत्, उत्पादन, सूचना प्रविधि, ट्राभल एण्ड टुर, सवारीसाधन बिक्री, केबलकार, होटल तथा रेस्टुरेन्टलगायत क्षेत्रमा चन्द्रप्रसाद ढकालले लगानी विस्तार गरेका छन् । तर पनि ढकाल विशेषतः बैंक मालिकका रूपमा चिनिन्छन् । उद्योगी र व्यवसायी माझमा उनलाई सबैले चिने पनि आम सर्वसाधारणले ढकाललाई चिन्ने चन्द्रागिरि र आईएमईलाई जोडेर नै हो। उनको पहिचानको रूपमा सबैभन्दा पहिला आउने आईएमई समूहले सञ्चालन गरेको आईएमई लाइफ इन्स्योरेन्स, आईएमई पे, डिशहोम, आईएमई जनरल इन्स्योरेन्स, आईएमई मोटर्स, आईएमई अटोमोबाइल्स सञ्चालनमा छन्। पछिल्लो समय ठूलो व्यवसायका रूपमा सञ्चालित चन्द्रगिरि हिल्स पनि ढकालको अर्को पहिचानका रूपमा स्थापित भइसकेको छ। थानकोट–चन्द्रागिरिमा केबुलकारसँगै फन पार्क, भ्यू टावर र रिसोर्ट सञ्चालन भएको छ । अहिले ढकालले सञ्चालनका गरेका व्यवसायमा करीब १० हजारलाई प्रत्यक्ष रोजगारी र २० हजारलाई अप्रत्यक्ष रूपमा रोजगारी दिइरहेका छन्।

यो पनि 

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई मर्जरका लागि प्रोत्साहन र दबाब दिइरहेको थियो । ग्लोबल आईएमई बैंकले मर्जरमा जाने निर्णय लियो र प्रकिया अघि बढायो । २०७६ असारमा जनता बैंक र ग्लोबल आईएमई बैंकबीच मर्जरमा जाने सहमति भयो । मंसिरमा एकीकृत कारोबार नै सुरु भयो । त्यसपछि पनि उनी रोकिएनन । हालै उनले बैंक अफ काठमान्डूलाई पनि आफ्नो पोल्टोमा पारिसकेका छन । बैंक अफ काठमान्डू र ग्लोबल आइएमई बैंकसँगको एकीकृत कारोबार सुरु गरिएको दिन ढकालले भनेका थिए, ‘मुलुकको समग्र वित्तीय क्षेत्रको गतिविधिसमेतलाई विशेष योगदान पुग्छ भनेर राष्ट्र बैंकले यस्तो अभियान चलाएपछि सहयोग गर्नु हाम्रो दायित्व हो । यसले बैंकको व्यावसायिक क्रियाकलाप पनि अघि बढाउनेछ ।’ ढकाल व्यवस्थापनको सवालमा सक्रिय छन् ।

उनकै सक्रियतामा अहिले मर्जरको लागि अर्को पार्टनर बैंक खोजी भइरहेको बैंकका प्रतिनिधिले बताएका छन् । सन् २००७ मा स्थापना भएको ग्लोबल आईएमई बैंक २१ वटा संस्था जोडिएपछि अहिले देशकै ठूलो वाणिज्य बैंकका रूपमा गनिन्छ । अब भने बैंकका सामू थप चुनौती र अवसरहरू बढेका छन् । संख्यात्मक रूपमा उपस्थिति कम हुँदै गएका छन् भने अन्य बैंकहरू पनि एक आपसमा जोडिएर आफुलाई अब्बल बनाइरहेका छन । यसैबीचमा अन्य थुप्रै बैंक तथा वित्तिय संस्थाहरु पनि मर्जरमा चमतकारिक रुपमा अगाडि बढिरहेका छन । यसले बैंकहरूबीचको प्रतिस्पर्धालाई बढाइरहेको छ ।

ग्लोबल आइएमई बैंकः २१ संस्थाहरुको मिलन 

वि.सं. २०६८ माघ २० मा पहिलो पटक ग्लोबल बैंक र आइएमई फाइनान्स मर्ज भए । ग्लोबल बैंक र आइएमई फाइनान्सबीचको मर्जर मुलुककै पहिलो मर्जर थियो । आइएमई फाइनान्ससँगसँगै मर्जरमा आयो लर्डबुद्ध फाइनान्स । आइएमई र लर्डबुद्ध फाइनान्स मर्जरमा आएपछि २०६९ असार २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार शुरु भयो । त्यसपछि ८ महिनामै ग्लोबल आइएमई अर्को मर्जरमा सामेल भयो ।  सोसल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंक ग्लोबल आइएमईसँग मर्ज भयो ।

यसमा पनि अध्यक्ष चन्द्र ढकालको ठुलो हात थियो । तीनवटा संस्थासँगको सफल मर्जरपछि  ग्लोबल आइएमई बैंकले ‘बैंक अफ दि इयर २०१४’ बाट सम्मानित भयो । त्यसै वर्ष ‘क’ वर्गको कमर्ज एन्ड ट्रस्ट बैंकलाई आफूमा गाभ्यो । सन् २०१६ मा ‘बेस्ट इन्टरनेट बैंक’ अवार्ड जितेको आइएमईले लमजुङमा भएको प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल विकास बैंकसँग मर्ज भयो । रियायबल विकास बैंक ग्लोबलमा गाभिनुअघि उसले कन्जुमर डेभलपमेन्ट बैंकलगायत ३ वटा विकास बैंकलाई आफूमा गाभेको थियो । यसले ग्लोबल आइएमई बैंकलाई थप बलियो र विस्तारित रुप दियो । बैंक विस्तारै ठूलो आकारको भइरहेको थियो । यहाँसम्म आइपुग्दा बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँभन्दा माथि लागिसकेको थियो । यसै क्रममा हाथवे फाइनान्स पनि ग्लोबल आइएमईमा गाभिन आइपुग्यो ।
\"\"
विकास बैंक फाइनान्स र अन्य साना संस्थाहरु आफुमाथि  गाभ्दै आइरहेको ग्लोबल बैंक राष्ट्र बैंकको कन्सेप्ट ‘विग मर्जर’ मा होमियो । त्यसपछि ग्लोबल र जनता बैंक एकआपसमा मिसिए । दुई बैंकले मर्जरमा जाने निर्णय गरेको ६ महिनामै सबै काम सम्पन्न भयो र २०७६ मंसिर २० देखि एकीकृत कारोबार शुरु भयो । जनता बैंक ग्लोबल आइएमई बैंकसँग मर्जरमा जानुअघि ८ वटा अन्य साना वित्तीय संस्थालाई आफूमा गाभिसकेको थियो । ग्लोबल आइएमईले आफूले गाभेका, रिलायबल फाइनान्सले आफूमा गाभेका र जनताले आफूमा गाभेका बैंक तथा वित्तीय संस्था जोड्दा १८ वटा संस्था ग्लोबल आइएमई बैंकसँग गाभिसकेका थिए । अहिले फेरि ‘विग मर्जर’ लाई मान्यता दिँदै ग्लोबल आइएमई बैंकले बैंक अफ काठमान्डूसँग मर्ज गरेको छ ।

यसमा पनि अध्यक्ष चन्द्र ढकालले ठुलो भुमिका निर्वाह गरेको देखिन्छ । उनीहरुले हालै एकिकृत काम सुभारम्भ गरिसकेका छन । यसले ग्लोबल आइएमई बैंकलाई नम्बर वान ताज दिलाएको छ । हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बनेको ग्लोबल आइएमई बैंक लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित भएका छन्। मर्जरपछि बैंकको कुल सम्पत्ति ५ खर्ब ५ अर्ब रुपैयाँ, कुल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पुँजी ३५.७७ अर्ब रुपैयाँ, कुल निक्षेप ४ खर्ब १२ अर्ब रुपैयाँ, कुल कर्जा ३ खर्ब ७७ अर्ब रुपैयाँ भएको छ । मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी, शाखा सञ्जाल तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ ।