अर्थतन्त्र सुधारोन्मुखः मन्त्री पौडेलमाथि चुनौतीका चाङ

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भावना अवस्थी, काठमाडौं । 
अर्थ मन्त्रालयको जिम्मेवारी पाएका नेकपा एमालेका उपाध्यक्ष बिष्णुप्रसाद पौडेलमाथि चुनौतिका चाङ देखिएका छन । पछिल्लो समय मुलुकको अर्थतन्त्र मात्रै नभई समग्र विश्वकै अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा छ । देशको समग्र आर्थिक स्थिती खलबलिएको, सरकारी वित्तीय प्रणाली भद्रगोल रहेको र बाह्य क्षेत्रमा चाप कायम रहेको बेला पौडेलले यी सबै समस्याको सुधार गर्ने जिम्मेवारीमा छन । पौडेलका लागि अर्थमन्त्रीको यो जिम्मेवारी नयाँ भने होइन तर यस अघिका दुई कार्यकालभन्दा अहिले अर्थतन्त्रमा धेरै चुनौतीहरु थपिएका छन् ।

भविष्यमा एमालेको अध्यक्षको सम्भावित दाबेदार मानिएका पौडेललाई भद्रगोल अर्थतन्त्रलाई सही बाटोतिर लैजानुपर्ने चुनौती पनि रहेको छ । लक्ष्य अनुसारको राजस्व सङ्कलन बढाउन, सरकारको अनावश्यक खर्च रोक्नुपर्ने र विकास निर्माण लक्षित पूँजीगत खर्चको रफ्तार बढाउनुपर्ने बाध्यता पौडेलमाथि छ । अनावश्यक खर्च कटौतीको विषय लामो समयदेखि चर्चामा रहे पनि विगतमा कुनै सरकारले पनि यस्ता खर्च रोक्न आँटिलो कदम चालेको देखिएको छैन ।  अर्थतन्त्र समस्यामा भएपनि नयाँ सरकार गठन भएसँगै अर्थतन्त्रका केही सूचकहरुमा सुधार भने देखिएको छ । सरकारमा आएसँगै अर्थतन्त्रमा देखिएको सुधारले पौडेलप्रति सकारात्मक अपेक्षा गर्न सकिन्छ । 

\"\"
अर्थतन्त्रका मूलभूत समस्या के हुन पहिचान गरेर अगाडि बढ्नुपर्ने अर्थशास्त्री दिपेन्द्र बहादुर क्षत्रीले बताएका छन् । पौडेल अर्थमन्त्री भए लगत्तै सेयरबजारमा आएको सुधारलाई पनि सकारात्मक रुपमा लिन सकिने बताउँदै उनले भने, ‘उँहाको आगमनसँगै निजी क्षेत्रको राष्ट्र बैंक प्रतिको अडान, निजी क्षेत्रसँगको संवाद र सेयरबजारमा आएको सुधार लगायतका कुराहरुले नै पनि उँहाबाट सकारात्मक अपेक्षा राख्न सकिन्छ ।’

जश्वले चालु खर्च समेत धान्न नसक्ने अवस्था रहेको र यसरी सरकार चलाउन पनि समस्या हुने भएकाले यस्ता समस्याहरुलाई बुझेर सजकता अपनाउनुपर्ने र सबैको सल्लाह लिएर अगाडि बढ्नुपर्ने क्षत्रीले बताएका छन् । अर्थशास्त्री एवंम राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले अर्थमन्त्रीबाट सकारात्मक र सवल अर्थतन्त्रको अपेक्षा गर्न सकिने बताए । उनले भने, ‘राख्न सकिने बताएका छन् । उनले भने, ‘पौडेल आउनासाथ सेयरबजार उकालो लाग्यो, निजी क्षेत्रसँग संवाद भयो,राष्ट्र बैंकको चालु कर्जा निर्देशिकामा संसोधन भयो यी कुराहरुले नयाँ सरकारको आगमनलाई अर्थतन्त्रका संम्भागहरुले सकारात्मक स्वागत गरेको देखिन्छ । तर सरकार गठनपछि अर्थतन्त्रमा भएका समस्या जादुको छडीले समाधान हुन्छ भन्ने त छैन, समस्या पुराना छन् र अगामी दिनमा सोचविचार गरेर अगाडि बढ्नुपर्छ ।’

सिवाकोटीले कृषि क्षेत्रको उत्पादकत्व, आधुनीकिकरण जस्ता थुप्रै समस्याहरु भएको र यी समस्याहरु विज्ञसँग सर सल्लाह गरेर समाधान गर्नुपर्ने बताएका छन् ।  नयाँ सरकारप्रति सकारात्मक रहेको अर्थशास्त्री गोविन्द नेपालले बताएका छन् । अर्थतन्त्र सुधार गर्न भष्ट्राचार नियन्त्रण गर्नुपर्ने, स्वदेशी उत्पादनमा जोड, पर्यटन क्षेत्रको विकास, हाइड्रोपावर क्षेत्रको विकास जस्ता कुराहरुमा जोड दिनुपर्ने बताएका छन् ।

उनले रेमिट्यान्सले देश चल्दा खुशी हुनुभन्दा स्वदेशमै रोजगारी सिर्जना गनुपर्नेतिर जोड दिनुपर्छ सुझाव पनि दिए । त्यस्तै अर्का अर्थविद्ध डा. चन्द्रमणी अधिकारीले अर्थतन्त्र ट्रयाक बाहिर गएको र नयाँ सरकारले सबैको सुझाव लिँदै अगाडि बढुनुपर्ने बताएका छन् ।  अर्थतन्त्र ओराले लागेको र मूल्यवृद्धी उच्च भएको बताउँदै उनले  भने, ‘जनजीवन कष्टकर भएको छ । बजारमा पैसा छैन । राजश्वले चालु खर्च नधान्नले अवस्थामा छ । यसले गर्दा देशमा मन्दी आएको छ ।  आयात निर्यात दुवै घटेकोले संकटमा रहेको अर्थतन्त्रलाई माथि उकास्न उपयुक्त ढंगले इमान्दारीताका साथ नयाँ अर्थमन्त्रीले काम गर्नुहुन्छ भन्ने अपेक्षा राख्न सकिन्छ ।’ दिगो रुपमा पुँजीबजार सुधार हुनलाई अर्थतन्त्रका अन्य सुचकहरु सुधार हुनुपर्ने पनि अधिकारीले बताएका छन् । 

पौडेलमाथि अर्थतन्त्र सुधारका चुनौतीहरु

\"\"
पछिल्लो पटक अर्थमन्त्री हुँदा पौडेलले बजारमा सकारात्मक प्रभाव छाडेका छन् । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीच उत्पन्न असहज परिस्थितिका कारण अर्थतन्त्र सकारात्मक छैन । यस्तो अवस्थामा अर्थ मन्त्रालय सम्हालेका पौडेललाई सहज अवस्था भने देखिँदैन । यसको समाधानका लागि पनि काम गर्नुपर्ने चुनौती पौडेलमाथि छ । 

ब्याजदर घटाउनैपर्ने बाध्यता 

बाह्य क्षेत्रको दवाव कम गर्न, बढीरहेको मूल्यवृद्धिलाई कम गर्न र बढ्दै गइरहेको बैंकको ब्याजदरलाई एकल अंकमा झार्नु पौडेलको अर्को चुनौती हो । चालु पुँजी कर्जाका कार्यविधिका कारण समस्या आएको भन्दै व्यापारी आन्दोलनमा छन् । आयातमा नगद मार्जिन राखेको भन्दै अटो व्यवसायीहरु पनि आन्दोलनमा छन् । नेपालको अर्थतन्त्रमा यस्ता धेरै समस्या देखा परेका छन् । यी समस्याहरु समाधान गर्दै अर्थतन्त्रमा सुधार ल्याउन सके अर्थमन्त्रीको रुपमा उनको तेस्रो कार्यकाल सफल हुने देखिन्छ ।

मूल्यवृद्धि नियन्त्रण
महंगीले ढाड सेकाएका जनतालाई नयाँ अर्थमन्त्रीले प्रत्यक्ष राहतको महशुस गराउने गरी मुल्यवृद्धि नियन्त्रण गर्नसक्नु र उच्चतम आर्थिक वृद्धि हासिल गराई जनताको आम्दानी बढाउने नीति अवलम्बन गरी प्रभावकारी कार्यान्वयन गर्न सक्नुपर्छ ।  यो आर्थिक वर्षमा मूल्यवृद्धि ८ प्रतिशत र आर्थिक वृद्धि ५.१ प्रतिशत कायम रहने प्रक्षपण गरिएको छ । यसमा पनि अर्थमन्त्रीले ध्यान दिनुपर्ने छ ।
 
आयात–निर्यात सन्तुलन बनाउनै सकस 

अहिले आयात र निर्यातमा सन्तुलन छैन । व्यापार घाटा बढ्दो छ । आयात र निर्यातमा सन्तुलन कायम राख्न र व्यापार घाटा कम गर्न केही समय लाग्छ । पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ । यसको आयात पनि बढ्दो छ । जसले मुलुकको अर्थतन्त्रलाई गम्भीर असर पारेको छ । विद्युत उत्पादन गरेर खपत गर्न सक्ने अवस्था बन्यो भने मात्रै यसलाई कम गर्न सकिन्छ । अब अर्थमन्त्रीले त्यसमा ध्यान दिन आवश्यक देखिन्छ ।

कृषि र पर्यटन क्षेत्रको विकास 

भ्रष्ट्राचारको अन्त्य ,उत्पादन र उत्पादकत्व अभिवृद्धि, पर्यटन प्रवर्द्धन, औद्योगिक विकास र रोजगारी, स्वच्छ खानेपानी र नवीकरणीय उर्जा, शिक्षा र सामाजिक विकास, स्वास्थ्य सेवाको सुदृढिकरण, पर्यावरणीय संरक्षण, पुर्वाधार विकास, सार्वजनिक सेवा प्रवाह र सुशासन प्रवर्द्धन जस्ता बिषयलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने र आर्थिक गतिविधिको विस्तार गरी अर्थतन्त्रलाई सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ । 

वित्तीय स्रोत व्यवस्थापन 

वित्तीय स्रोत व्यवस्थापन गर्ने सम्बन्धमा आर्थिक अनुशासन कायम गर्ने विषयले ज्यादै महत्व राखेको हुन्छ । सीमित स्रोतसाधनको उच्चतम प्रयोग, फजुल खर्च को कटौति, खर्चको जिम्मेवारी बहन र आर्थिक पारदर्शितामा सुधार गरी अर्थतन्त्रलाई सुदृढ बनाउन सकिन्छ ।

यसका साथै अर्थतन्त्रमा देखिएका तत्कालीन र दीर्घकालीन समस्या समाधानमा सरकार गम्भीर हुनु आवश्यक देखिन्छ । मूल्यवृद्धि, तरलता अभाव, उच्च र अस्थिर ब्याजदर, राजस्वको चुवावट लगायत विविध समस्याले अर्थतन्त्र थलिएको छ । यसरी संकटमा रहेको अर्थतन्त्रलाई लयमा ल्याउनु र देशमा आर्थिक तथा वित्तीय स्थायित्व कायम गर्नु नवगठित सरकारको सबैभन्दा ठूलो जिम्मेवारी र चुनौती हो ।  माओवादी नेतृत्वको गठबन्धन दलको सरकारमा एमालेका तर्फबाट तेस्रो पटक अर्थमन्त्री बनेका विष्णु पौडेल अर्थमन्त्री हुँदा यसअघि दुवैपटक अर्थतन्त्रमा समस्या थियो । पहिलोपटक अर्थमन्त्री हुँदा भुकम्प  र नाकाबन्दीको दबाब थियो । केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्री रहँदा उनले समन्वयकारी भूमिका खेलेका थिए । 

दोस्रोपटक अर्थमन्त्री हुँदा कोरोना महामारीबाट अर्थतन्त्र प्रभावित थियो । महामारीको प्रभावकै बीचमा पौडेलले अध्यादेशबाट बजेट ल्याएका थिए । उक्त बजेटप्रति निजी क्षेत्रले सकारात्मक प्रतिक्रिया दिएको थियो । विगतमा भन्दा अहिले अर्थतन्त्रमा झन ठूलो संकट छ । यस्तोमा सबैसँग समन्वयन गर्नसक्ने र उच्च राजनीतिक चरित्र भएका पौडेलप्रति उद्योगी व्यवसायीले पनि राम्रै अपेक्षा गरेका छन् । प्रशासकहरूले पनि अहिलेको समयमा पौडेल अर्थमन्त्री हुँदा राम्रै हुने अपेक्षा गरेका छन् ।