२३ % ले बढ्यो रेमिटेन्स, विदेशी मुद्रा सञ्चितिमा पनि वृद्धि

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
चालु आर्थिक वर्षको पाँच महिनामा रेमिटेन्स बढेको छ । राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको ५ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीका समावेश भएअनुसार गत वर्षको मंसिर सम्ममा तीन खर्ब ९० अर्ब बराबर रेमिटेन्स भित्रिएकोमा यस पटक ४ खर्ब ८० अर्ब रूपैयाँ बराबरको रेमिटेन्स भित्रिएको हो। गत आर्थिक वर्षको यही अवधिको तुलनामा यो २३ प्रतिशतले बढि हो । 

यस्तै आयातमा गरिएको कडाइले मुलुकको विदेशी मुद्रा सञ्चितिमा वृद्धि भइरहेको छ भने शोधानान्तर बचतमा पनि वृद्धि भइरहेको छ। विदेशी मुद्रा आम्दानीका स्रोतहरूमा भएको वृद्धि, आयातमा भएको कटौतीले मुलुकको आम्दानी र खर्च बीचको सन्तुलन (भुक्तानी सन्तुलन वा शोधानान्तर) बचतमा वृद्धि भइरहेको छ।  कात्तिकमा शोधानान्तर स्थिति २० अर्ब ३ करोड रूपैयाँ बचतमा रहेकोमा मंसिरमा ४५ अर्ब ८७ करोड रूपैयाँ बचतमा छ। 

मुलुकको विदेशी मुद्राको स्रोतको रूपमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमा भने ६७ प्रतिशतको गिरावट देखिएको छ। गत वर्ष ७ अर्ब ३२ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएकोमा यस वर्ष २ अर्ब ४१ करोड मात्रै भित्रिएको छ। १ अर्ब ८० करोड रूपैयाँ भने लाभांशसहित लगानी फिर्ता भएको छ। 

खुद प्रत्यक्ष वैदेशिक लगानी मात्रै ६० करोड  छ। वैदेशिक अनुदान भने १४ प्रतिशतले बढेर ९ अर्ब २१ करोड पुगेको छ।  विदेशी मुद्रा आम्दानीका विभिन्न स्रोतहरूमा सुधार भएसँगै मुलुकको विदेशी मुद्रा सञ्चितिमा पनि सुधार भएको छ। कुल विदेशी विनिमय सञ्चिति गत कात्तिकमा १२ खर्ब ४६ अर्ब रूपैयाँ रहेकोमा बढेर १२ खर्ब ९२ अर्ब रूपैयाँ पुगेको छ।  यस्तो सञ्चितिले ८ महिना २१ दिनको वस्तु तथा सेवाको आयात धान्ने अवस्था छ। 

आयातमा भने गत वर्षको तुलनामा २०.७ प्रतिशतले कमी आएर ६ खर्ब ६४ अर्बमा सीमित भएको छ। तर, विदेशी मुद्रा आर्जनको स्रोत निर्यात पनि ३४.६ प्रतिशतले घटेर ६७ अर्बमा सीमित भएको छ।  तर, पुस १ गतेदेखि यसअघि सरकारले केही वस्तुमा गरिएको आयात प्रतिबन्ध खोलेको छ। त्यसैले आयातमा यो निर्णयले कस्तो प्रभाव पार्छ भन्ने विषयले नै आगामी दिनमा मुलुकको विदेशी मुद्रा सञ्चिति र शोधानान्तरको अवस्थाको आँकलन गर्न सकिनेछ।