वित्तीय अपराधमा विदेशीको ‘क्रीडास्थल’ बन्दै नेपाल, ३ वर्षमै ४३३ प्रतिशत बढ्यो विदेशीको संलग्नता


काठमाडौं – नेपाली भूमिमा बसेर आर्थिक तथा वित्तीय अपराध गर्ने विदेशीहरूको संख्या निरन्तर बढ्न थालेको छ । नेपाल प्रहरीको तथ्यांकलाई हेर्दा नेपालमा घट्ने वित्तीय अपराधमा विदेशी नागरिकहरूको संलग्नता बढ्दै गएको हो । तथ्यांकअनुसार पछिल्लो ३ वर्षमा नेपालमा घट्ने वित्तीय अपराधमा विदेशीको संलग्नता ४३३ प्रतिशतले बढेको छ ।

यसलाई वित्तीय अपराधमा नेपालमा विदेशी नागरिकको ‘क्रीडास्थल’कारुपमा विकास हुँदै गएकोरुपमा समेत बुझ्न सकिन्छ । पछिल्लो तीन आर्थिक वर्षलाई हेर्दा विदेशीहरूले नेपालमा अपराधका गर्नेहरूको संख्या क्रमशः रूपमा बढी रहेका छन् । नेपाल प्रहरीकाअनुसार आर्थिक वर्ष (आव) २०७९/२०८० मा ६ जना विदेशी नागरिक वित्तीय अपराधमा संलग्न रहेका छन् ।

जसमध्ये ३ जनाले सामाजिक सञ्जालबाट नेपालीलाई ठग्ने काम गरेका थिए भने ३ जनाले घोटालामार्फत ठगी गरेका थिए । त्यस्तै, आव २०८०/२०८१ मा वित्तीय अपराधमा विदेशीको संलग्नतामा झनै वृद्धि भएको प्रहरीको तथ्यांकले बताएको छ ।

प्रहरीका अनुसार यस आवमा मात्र २५ जना विदेशी नागरिकहरू नेपालमा वित्तीय अपराधमा मिसिएका छन् । जसमा सामाजिक सञ्जालमा १ जना, अनलाइन मोबाइल बैंकिङ्गमा ६ जना, घोटालामा ३, फिसिङमा १ जना, अन्यमा १४ जना विदेशी नागरिकको संलग्नता रहेको पाइएको छ ।

यस्तै, चालू आर्थिक वर्ष २०८१/८२ को माघसम्ममा वित्तीय अपराधमा विदेशीको संलग्नता रहेको अभियोग ३२ जनालाई पक्राउ परिसकेका छन् । जसमा १९ जना पुरुष र १३ जना महिला संलग्न रहेका छन् ।

सामाजिक सञ्जालमा १ जना महिला, अनलाइन मोबाइल बैंकिङ्गमा १२ जना पुरुष र ३ जना महिला, अनलाइन सर्पिङ ठगी १ जना महिला, इसेवा, फोन पे लगायत अनलाइन भुक्तानी १ जना महिला, अन्य विषयमा ७ जना पुरुष र ७ जना महिला विदेशी नागरिकको संलग्नता रहेको पाइएको छ ।