बैंकिङ्ग समाचार, काठमाडौं ।
अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सरकारविरुद्ध आन्दोलनमा उत्रिने घोषणा गरेको छ । काठमाडौंमा कार्यक्रम आयोजना गर्दै विज्ञप्ती जारी गरी नाडाले सरकारलेविरुद्ध चरणवद्ध रुपमा आन्दोलन आयोजना गर्ने जानकारी दिएको हो ।
नाडाले यसको सुरुवात मंसिर २२ गते काठमाडौंको माइतीघर मण्डलामा बिहान ११ बजेदेखि २ बजेसम्म कालो लुगा लगाई धर्ना दिएर सुरु गर्ने जनाएको छ ।
सरकारले चरणवद्ध रूपमा आयातमा कडाइ गरेकोमध्ये सबैभन्दा धेरै प्रभाव अटोमोबाइल क्षेत्रमा परेको नाडाको भनाइ छ । त्यसैले व्यवसायीहरूले विभिन्न समयमा सरकारसँग छलफल गरे पनि अवस्था सहज नबनाएकाले आन्दोलन गर्न बाध्य भएको नाडाका अध्यक्ष ध्रुव थापाले बताए ।
उनकाअनुसार विगत एक वर्षदेखि अटोमोबाइल क्षेत्रमा कडाइ गर्दै आएको छ। ‘शुरूमा ५० प्रतिशत मार्जिनको व्यवस्था गर्यो र पछि आएर प्रतिबन्ध गर्यो । साथै, बैंक तथा वित्तिय संस्थाहरूको जोखिम भार ७५ प्रतिशत रहेकोमा अहिले १५० प्रतिशत भएको बढाएको छ । साथै, ब्याजदर ह्वात्तै बढाएकाले व्यवसायी धारासायी बन्दै गएकाले दबाबमुलक कार्यक्रम घोषणा गरेको हो’ उनले भने ।
हालसम्ममा सरकार र राष्ट्र बैंकको नीतिले करिब ३० प्रतिशत रोजगारी खुम्चिएको उनको भनाइ छ । साथै, ५८ वटा शाखा बन्द भइसकेको र १०० वटा बन्द हुने क्रममा रहेकले आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ । नाडाले आयातमा लागेको प्रतिबन्ध तत्काल खोल्न, चालु पूँजी कर्जाको मार्गदर्शन परिमार्जन गर्न, मार्जिनको व्यवस्था हटाउन, व्याज तथा प्रिमियम दरलाई नियन्त्रणमा राख्नका लागि आवश्यक व्यवस्था गर्न, अटोलोन र हायर पर्चेज कर्जामा ७५ प्रतिशत कायम गर्न माग गरेको छ ।
८ महिना देखि पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनका आयातमा प्रतिबन्ध लगाएकोमाथि नेपाल राष्ट्र बैंकले अटोमोवाइल व्यवसायसँग सम्बन्धित विषयहरुमा एकपछि अर्को व्यवसाय अमैत्री नीति नियमहरु ल्याएको विरोधमा आन्दोलन गर्न लागेको नाडाले जनाएको छ ।



About Us
प्रतिक्रिया