बैंकिङ्ग समाचार काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आर्थिक रुपमा संकट व्यहोरिरहेका उद्योग र व्यवसायीहरुलाई सरकारले ब्याजदरमा अनुदानको व्यवस्था गर्न माग गरेका छन । नवौं उद्योग दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले नेपालमा मूल्य अभिबृद्धि हुने, धेरै रोजगारी सिर्जना गर्ने र धेरै निर्यात गर्ने उद्योगलाई सरकारले ब्याजमा अनुदान दिएर सहयोग गर्नुपर्ने माग गरे ।
उनले भने, ‘वर्तमानको आर्थिक संकटले सरकार र निजी क्षेत्र धरासायी भएको छ । यसको चपेटामा उद्योग क्षेत्र झनै परेको छ । त्यसैले ब्याजदरको अस्थिर अवस्थामा बैंकलाई भन्दा पनि उद्योग बचाउन सरकारले ब्याजमा अनुदान दिनुपर्छ ।’
वाणिज्य बैंकहरु नाफामै केन्द्रित भइरहने बताउँदै गोल्छाले भने, ‘उद्योग बचाउन सरकारले काम नगरे अवस्था भयावह छ ।अर्थतन्त्रको समस्या कम गर्दै लैजान उद्योग चल्ने वातावरण बनाउनुपर्छ । ६० वर्ष पहिले र अहिले उद्योगका समस्या उस्तै छ । उद्योगहरुको प्रतिस्पर्धी क्षमता पहिचान नहुनु, उद्योग विकासका लागि चाहिने पूर्वाधारको कमी, लागत घटाउन पहल नगरिनु जस्ता समस्याले उद्योगको समुचित विकास हुन सकेको छैन ।’
अर्थतन्त्रमा देखिएको समस्या समाधानमा गलत उपचार गरिंदा राजस्व घटेर सरकार साधारण खर्च सञ्चालन गर्न पनि नसकिने अवस्थामा पुगेको र निजी क्षेत्रको मनोबल पनि विस्तारै कमजोर हुँदै गइरहेको उनले बताए ।



About Us
प्रतिक्रिया