रविको जीत र आर्थिक रुपान्तरणको जनअपेक्षा 

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन–२ बाट भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । यो जितले नेपाली राजनीतिमा ठुलो वैकल्पिक शक्तिको उदय भएको महशुस गरिएको छ । योसँगै स्वतन्त्र पार्टीले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ५ क्षेत्रमा जित निकालेको छ । काठमाडौं–२ मा सोविता गौतम, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठ र ललितपुर–३ मा तोसिमा कार्कीले जितेकी छन् । यी क्षेत्रमा कांग्रेस र माओवादी केन्द्रसहित चार दलीय गठबन्धनबाट उम्मेदवार बनेका जीवनराम श्रेष्ठदेखि पूर्वसभामुख ओनसरी घर्ती र पूर्वमन्त्री भीमसेनदास प्रधानसम्म फराकिलो मतान्तरले पराजित भएका हुन् ।

रविको उदय र आर्थिक रुपान्तरणको जनअपेक्षा 

नेपालको अर्थतन्त्र चरम गरिबीको मारमा फसेको छ । व्यापक बेरोजगारीका कारण सबैतिर नैराश्यता छ । अनुत्पादक क्षेत्रमा लगानी बढ्ने र अवास्तविक अर्थतन्त्रको निर्माणको क्रम रोकिएको छैन । भर्खरै स्थापना भएका संघीयता संरचनाहरुमा प्रणाली निर्माणको सकसमा छन् । राष्ट्रिय बचत निकै कम छ । बजेट खर्च अत्यान्तै न्युन छ । रेमिट्यान्स सरकारी कर्मचारीलाई तलब खुवाउँदै ठिक्क छ । निर्यात न्युन छ । आयात थेगिनसक्नु छ । त्यसैले अब बन्ने सरकारमाथि चुनौतीका चाङ्ग थपिएका छन । यसकारण संघीय लोकतान्त्रिक शासन प्रणालीमाथि पनि प्रश्न उठने खतरा छ । त्यसैले रुपान्तरण आवश्यकता मात्र होइन, अहिलेको बाध्यता पनि हो । यस्तोमा यस निर्वाचनका बीचमा सानो दियोको रुपमा स्थापित नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीमाथि आम नेपाली जनताको अपेक्षा यती धेरै बढेको छ कि त्यसको सायद तराजुमा जोखेर जोख्न सकिँदैन होला ।

 मुलुक समृद्धिको यात्रामा होमिएको छ । जनता निराधार छन् । आर्थिक विकास प्राकृतिक स्रोत, मानव साधन, पूँजी र प्रविधिको अन्तरक्रियाको नतिजा हो । पूजी स्थीरतामा रमाउँछ, प्रविधि प्रतिस्पर्धामा अग्रसर हुन्छ र श्रम क्षणमै नाश हुने र संवेदनशील अनि तरल स्वभावको हुन्छ । द्वन्द्व, अस्थिरता र अविश्वासले पूजी, प्रविधि र श्रमको अभ्यास हुन नसक्नु राजनीतिक अस्थिरताका कारणहरु हुन । परिणामतः प्रचुर प्राकृतिक स्रोतको उपयोग नहुनु हामी सबैको दुर्भाग्य हो । सम्भावनाहरु हामीबीच छन । दुरदराजमा छन । तर पर्याप्त संभावनाबीच जलविद्युत, उद्योग र पर्यटन लगायतका सेवा क्षेत्रको उपयोग गरी राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न नसक्नु विडम्वना हो ।
\"\"
मुलुकले राजनैतिक आन्दोलन र द्वन्द्व गर्न जति सिक्योे, विकास, अर्थतन्त्र निर्माण र संभावना उपयोगमा त्यति नै चुक्यो । एक दलले अर्कोलाई, एक व्यक्तिले अर्कोमाथि गाली आलोचना र आरोपमा खर्चिदा भविष्य निर्माणको अवसर भने गुम्दै गयो । अब यस्तोमा रवि लामिछाने जस्ता युवाहरुले सक्रिय राजनितिमा हस्तक्षेप मात्रै हैन नेपालभर मौलाएको भ्रष्टाचार रोक्न सक्दछन भन्ने आम जनअपेक्षा छ । तर कुनै पनि कुरामा गहिरो व्याख्या र विश्लेशषणबिना हौसीने राम्रो बानी भने होइन । यदी सकरात्मक सोच र दृण विश्वासकासाथ अगाडी बढेमा नयाँ युवाहरुको जोस दोब्बर भएर जाने पक्का छ । अरुको कमजोरी, गल्ती र अयोग्यता देख्ने हामीहरु आफू सच्चिन, संयमित हुने र आफैबाट थालनी गर्नुपर्ने असल संस्कृतिको विकासमा अग्रसर हुनुपर्छ । जनताले परिणाम चाहिरहेको छन् । ‘इस्ट्यान्ट’ नतिजा चाहेका छन । अन्य मुलुकहरुको जस्तै विश्वास चाहेका छन । युग उपलव्धि खोजिरहेको छ ।

सबैको एउटा सानो आवास होस, रोजगारी गर्ने अवसर मिलोस, पेशाव्यवसाय गर्ने अवसर पाइयोस, सुरक्षाको प्रत्याभूति होस् र आफ्नो भविष्य सुनिश्चित बनोेस् भन्ने सोच नेपाली जनताको छ । यसमा राजनीतिको बागडोर सम्हाल्ने राजनीतिकर्मीले निराशा धेरै दिनसम्म रहन दिनुहुन्न । यसर्थ समग्र रुपान्तरण अहिलेको आवश्यकता हो । अन्य थुप्रै कारणले नेपाली समाज समग्र रुपान्तरणको पखाईमा छ । लोकतन्त्र स्थापना भयो, लोकतन्त्रका अवसर वितरण हुन अझै सकेका छैनन् । सर्वसाधारणहरु विकासको भोकमा रुमलिएका छन ।

जनताका माग र अपेक्षा चुलिँदो अवस्थामा छन । लोकतान्त्रिक संस्थाहरुको क्रियाशील सक्रियता, जनस्तरमा आर्थिक संरचनाहरुको निर्माण र तिनीहरुलाई जनताका दैनिकीसँग घुलमिलित गराउन नसकिएमा निराशा र कुण्ठाले स्थान पाउनेछ । आशाको दियो जगाउन पनि आर्थिक रुपान्तरण मुलधारमा आवश्यक छ । युवाहरु आकांक्षी बन्दै गएका छन् । प्रविधि र परिश्रममा रमाउने आदत युवाहरुमा जमिसकेको छ । जानी नजानी उनीहरु राजनीतिमा उदायका छन । जसरी रवि उदायका छन भलै किन नहोस निकट भविष्यमा यसको जमात ठुलो हुने देखिन्छ । प्रविधिमा अभ्यस्त युवाहरू प्रत्येक वर्ष नयाँ पुस्ताका रुपमा बदलिँदै गएका छन् । यो पुस्तान्तरणको प्रक्रियालाई प्रविधिले मुख्यतः पुलको रुपमा काम गरेको छ । उसले पढ्ने, बोल्ने, मनोरञ्जन गर्ने, मिहेनत गर्ने, व्यवहारशैली सबै व्यवहारिक रुपान्तरणको संघारमा पुगेको छ ।
\"\"संविधान निर्माणपछि मुलुक समृद्धिको यात्रामा छ । संविधानको मुख्य एजेन्डा आर्थिक समृद्धि र सामाजिक रुपान्तरण हो । अहिले पनि मुलुकसँग आर्थिक विकासका थुप्रै संभावनाहरु छन् । सबैजसो मुलुकहरूले प्राकृतिक स्रोतको उच्चतम प्रयोग गरिसक्दा पनि हामीसँग भएको जलस्रोत, बन, भूमि र खानी अझै खोतलिएका छैनन । यो अवसर अन्य  मुलुकसंग छैन । तर हामीसँग भएर पनि केही गर्न सकिएको छैन । जलविद्युतको उपयोग गर्न सकिएमा नेपाल यस क्षेत्रकै रणनीतिक महत्वमा देखिनेछ । तर ढिला गरे छिमेकीहरू अर्को विकल्पतिर जानेछन् ।

विकास साझेदारका सहयोगी हातहरू पनि हाम्रा साथमा छन । एकातिर चीन छ भने अर्कातिर भारत । तर हाम्रा प्राथमिकता र प्रणालीमा समेट्ने मुख्य एजेन्डाहरुनै हामीसँग विलय भइरहेका छन । विकासको सूत्र सजिलो हुन्छ, तर अनुशासन भने अत्यन्तै कठिन हुन्छ । त्यसैले रुपान्तरणको कठिन यात्रा तय गर्नुको हाम्रो विकल्प छैन । यसले विद्यमान सांगठनिक ढाँचा, उत्पादन संगठन, वितरण विधि, विधान र कार्यसम्पादन शैलीमा आमूल परिवर्तनको माग गर्दछ । त्यसैले त परिवर्तन कठिन हुन्छ । यो सानो प्रयास र सानातिना कार्यप्रक्रिया र सीमान्तबृद्धि लक्ष्यभन्दा माथि उठेर परिवर्तनको भोक मेटाउने भनेको युवाहरुले नै हो । जसको तीव्र पर्खाईमा मुलुक छ । आशा गरौँ, नयाँपन र नविनतम सोचले मुलुकमा आर्थिक रुपान्तरण पक्कै हुनेछ ।