बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंकको पछिल्लो ३ महिनाको वित्तिय विवरण हेर्दा बढी निक्षेप संकलन गर्ने विकास बैंकहरुमा महालक्ष्मी दोस्रो स्थानमा देखिएको छ । पहिलो त्रैमासमा महालक्ष्मी बैंकले १ अर्ब ९१ करोड रुपैयाँले निक्षेप बढाउन सफल भएको छ। गत असार मसान्तसम्म बैंकले ४५ अर्ब ८९ करोड रुपैयाँ निक्षेप रहेकोमा असोज मसान्तसम्म बढेर ४७ अर्ब ८१ करोड रुपैयाँ पुगेको हो ।
हालसालै मुक्तिनाथ विकास बैंक छाडेर महालक्ष्मी विकास बैंकको निक्षेप तथा कर्पोरेट संचार प्रमुखको जिम्मेवारी सम्हालेका बसन्त बक्सीले बैंकको प्रगतीमा उल्लेखीय सुधार भएको बताएका छन । लामो समयदेखि निक्षेप संकलनमा कमजोर र लगानीयोग्य पुँजी व्यवस्थापन गर्न नसकेका बेला बैंकका कर्मचारीहरुको मिहनेत र परिश्रमको फल विस्तारै देखिन थालेको उनले बताए ।
यस्तै शाइन रेसुंगा डेभलपमेन्ट बैंकले समीक्षा अवधिमा सबैभन्दा बढी २ अर्ब ३५ करोड रुपैयाँ निक्षेप बढाएको छ। गत असार मसान्तसम्म ४३ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेको शाइन रेसुुंगाले असोज मसान्तसम्म ४५ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। गत असार मसान्तसम्म ४४ अर्ब ३७ करोड रुपैयाँ निक्षेप उठाएको लुम्बिनी विकास बैंकले असोज मसान्तसम्म १ अर्ब ६८ करोड रुपैयाँले निक्षेप वृद्धि गरी ४६ अर्ब ५ करोड रुपैयाँ पुर्याएको छ।
असार मसान्तसम्मको तुुलनामा ज्योति विकास बैंकले निक्षेप पनि ७६ करोड ४२ लाख रुपैयाँ बढेको छ। असोज मसान्तसम्म ज्योतिले ५७ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। यस्तै सांग्रिला डेभलपमेन्ट बैंकले ५८ करोड ४९ लाख रुपैयाँले निक्षेप बढाएर ५२ अर्ब ७९ करोड रुपैयाँ कुल निक्षेप उठाएको छ।
यसका साथै गत असार मसान्तको तुलनामा कामना सेवा विकास बैंकले ४७ करोड ४३ लाख रुपैयाँले निक्षेप बढाएको छ। बैंकले असोज मसान्तसम्म आउँदा कुल ५१ अर्ब ३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।
यो ३ महिनाको अवधिमा मुक्तिनाथको निक्षेप भने घटेको छ। गत असार मसान्तसम्म मुक्तिनाथले १ खर्ब ८ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो। असोज मसान्तसम्म भने बैंकको निक्षेप १२ करोड ४२ लाख रुपैयाँले घटेर १ खर्ब ८ अर्ब ३८ करोड रुपैयाँमा झरेको छ। पछिल्लो ३ महिनामा गरिमा विकास बैंकले ८९ करोड १० लाख रुपैयाँले निक्षेप बढाएको छ। गत असार मसान्तसम्म ७० अर्ब ४४ करोड निक्षेप संकलन गरेको यो बैंकले असोज मसान्तसम्म ७१ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।
बैंकिङ प्रणालीमा पर्याप्त मात्रामा तरलता नभएपछि निक्षेप संकलन गर्न बैंकहरुको होड चलेको छ । यसका लागि बैंकहरुले निक्षेपमा ब्याजदर बढाएका छन भने ग्राहकहरुलाई अनेक प्रकारका अफरहरु बजारमा ल्याएका छन । तर बैंकहरुले सोचे अनुरुप निक्षेप संकलन गर्न सकेका भने छैनन्।
प्रतिक्रिया