काठमाडौं – सरकारले नयाँ गभर्नर नियुक्ती प्रक्रिया अघि बढाएको छ । अघिल्लो साता बसेको मन्त्रीपरिषद् बैठकले अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वमा ३ सदस्यीय सिफारिस समिति गठनको निर्णय गरेको थियो । सो समितिलाई पूर्णता दिँदै सरकारले गभर्नर नियुक्ती प्रक्रियालाई तीव्र बनाएको हो ।
अर्थमन्त्री पौडेल नेतृत्वको गभर्नर सिफारिस समितिमा योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेल छन् । पौडेल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका निकट छन् । यसबाहेक, समितिमा विजयनाथ भट्टराई समेत छन् । भट्टराई पूर्व गभर्नर हुन् ।
भट्टराईले २०६१ साल माघ १८ गते नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका थिए । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल यही वर्षको चैत अन्तिममा सकिनेछ । २०७६ सालको २१ गते गभर्नरमा नियुक्त भएका अधिकारीपछि १८औं गभर्नर नियुक्ती प्रक्रियामा सरकार छ ।
गभर्नर बन्नका लागि दुई दर्जन आकांक्षी शक्तिकेन्द्र धाउँदैछन् । राष्ट्र बैंकका दुई डेपुटी गभर्नरसहित कार्यकारी निर्देशकहरु लगायत गभर्नर बन्ने होडमा छन् । यस्तै ४ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत समेत गभर्नर बन्ने ‘लविइङ’मा छन् भने लगानी बोर्डका पूर्व प्रमुख, योजना आयोगका पूर्व र वर्तमान उपाध्यक्षहरु, अर्थशास्त्रीहरु लगायत दौडधुपमा छन् ।
प्रतिक्रिया