बैकिङ्ग समाचार, काठमाडौं ।
सरकारले २ प्रतिशत ब्याजदरमा साढे २ खर्ब रुपैयाँभन्दा बढी सहुलियतपूर्ण कर्जा स्वीकृत गरेको छ । बैंक तथा वित्तीय संस्थाले आफ्नो आधारदरमा अधिकतम २ प्रतिशतसम्म मात्र थपेर कर्जा प्रवाह गर्न पाउने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । यस्तो खालको कर्जामा आधारदरमा २ प्रतिशत भन्दा धेरै ब्याज लिएमा कारवाही हुने राष्ट्र बैंक बताउँछ ।
१ लाख ४७ हजार २३ जनाले सरकारले दिएको सस्तो ब्याजदरको ऋण लिएको तथ्याङक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । यस्तो ऋणको अवधि बढीमा ५ वर्ष हुनेछ । सरकारले ब्याजका लागि मात्र १८ अर्ब ८६ करोड ९७ लाख ८९ हजार रुपैयाँ बैंक तथा वित्तीय संस्थालाई दिएको छ ।
अर्थ मन्त्रालयले २०७५ सालदेखि राष्ट्र बैंक मार्फत उक्त ऋण दिन थालेको थियो । २०७९ को साउनसम्म २ खर्ब ५७ अर्ब ७७ करोड ३६ लाख २९ हजार रुपैयाँ ऋण स्वीकृत भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ अनुसार बैंक तथा वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जा प्रवाह गर्न थालेका छन् । सरकारले तोकेको सात शीर्षकअनुसार अनुकूल हुनेगरी कर्जा दिने व्यवस्था राष्ट्र बैंकले गरेको थियो ।
यस्तै सरकारले सस्तो ब्याजदरमा उपलब्ध गराएको कर्जा सबैभन्दा बढी व्यावसायिक कृषि तथा पशुपक्षी कर्जाको नाममा स्वीकृत भएको छ । यसका लागि १ खर्ब ६३ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ कर्जा स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ । यो कर्जा हालसम्म ५९ हजार ८७९ जनाले प्राप्त गरेका छन ।



About Us
प्रतिक्रिया