ब्याजदर न्यून बिन्दुमा आउँदा खुम्चियो बैंकहरुको आम्दानी

ब्याजदर न्यून बिन्दुमा आउँदा खुम्चियो बैंकहरुको आम्दानी


काठमाडौं – बैंकमा लगानीयोग्य रकम थुप्रिँदै जाँदा घट्दो स्थितिमा रहेको ब्याजदर ३ वर्षयताकै न्यून बिन्दुमा आइपुगेको छ । लगानीयोग्य रकम बैंकहरुमा थुप्रिँदा र कर्जा लगानी नबढ्दा ब्याजदर न्यून बिन्दुमा आइपुगेको हो । यससँगै, बैंकहरुको आम्दानीको मुख्य स्रोत नै प्रभावित बनेको छ ।

बैंकहरुको ब्याजदर कोरोना महामारीयता अर्थतन्त्रमा विविध प्रकारका समस्या आउँदा बढेर १४ प्रतिशतसम्म पुगेको थियो । यो बिन्दुबाट घटेर ९ प्रतिशत हाराहारीमा आइपुगेको छ । बैंक ब्याज घटेर एकल अंकमा आउनसाथ मुख्य आम्दानीको स्रोत खुम्चियो र नाफा नै प्रभावित बनेको वित्तीय विवरणहरू बैंकले सार्वजनिक गरेका छन् ।

चालू आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अवधिमा अधिकांश बैंकहरुको मुख्य आम्दानीको स्रोत अर्थात् ब्याज आम्दानी खुम्चिएको छ । तथ्यांकले यस अवधिमा वाणिज्य बैंकहरुको ब्याज आम्दानी ३.७१ प्रतिशतले घटेको देखाउँछ । यस अर्थ गत वर्षको यही अवधिको तुलनामा वाणिज्य बैंकहरुको खुद आम्दानी निरन्तर खस्कँदो अवस्थामा छ ।

गत आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्म २० वटा वाणिज्य बैंकहरुले ९६ अर्ब ५६ करोड ५९ लाख रहेको खुद ब्याज आम्दानी गरेका थिए । जबकि, चालू वर्षको सोही अवधिमा यो घटेर ९२ अर्ब ९७ करोड ९६ लाख रुपैयाँमा आइपुगेको छ । तथ्यांकअनुसार बैंकहरुको खुद ब्याज आम्दानी ३ अर्ब ५९ करोड रुपैयाँले घटेको हो । बैंकहरुद्वारा सार्वजनिक वित्तीय विवरणअनुसार २० मध्ये ७ वटाको मात्रै ब्याज आम्दानी बढेको छ । १३ वटा बैंकहरुको ब्याज आम्दानी गत वर्षको यही अवधिको तुलनामा खुम्चिएको छ । 

कुन बैंकको कति ?

यस अवधिमा ७ वटा बैंकको ब्याज आम्दानी बढेको छ । एभरेष्ट बैंकको आम्दानी १८.३८ प्रतिशतले उकालो लागेको तथ्यांक सार्वजनिक भएको छ । यस्तै, प्राइमको १४.०६ प्रतिशतले बढेको छ भने एनएमबी बैंकको ब्याज आम्दानी १३.७२ प्रतिशतले खुम्चिएको छ । सिटिजन्सको ८.२७ प्रतिशतले ब्याज आम्दानी बढ्दा माछापुच्छ्रेको ७.०६ प्रतिशतले बढेको छ ।

यसैगरी, नेपाल बैंकको आम्दानी ६.०१ प्रतिशतले बढेको छ भने प्रभु बैंकको ब्याज आम्दानी २.१२ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार एभरेष्ट बैंकको ब्याज आम्दानी सबैभन्दा धेरै प्रतिशतले सुधार हुँदा प्रभुको न्यून बिन्दुमा सुधार भएको छ ।

सबैभन्दा धेरै राष्ट्रिय वाणिज्यको आम्दानी प्रभावित

तथ्यांकअनुसार ब्याजदर घट्दा सबैभन्दा बढी प्रभावित बन्ने बैंकको सूचीमा परेको छ । यो बैंकको यस अवधिमा २३ प्रतिशतले ब्याज आम्दानी घटेको छ । यसपछि कृषि विकास बैंकको आम्दानी २२.३६ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १७.४४ प्रतिशत, नेपाल एसबीआई १३.७३ प्रतिशत र हिमालयन बैंक १०.०४ प्रतिशतले आम्दानी घटेको छ । यसैगरी, ग्लोबल आईएमई बैंकको ८.०९ प्रतिशत, लक्ष्मी सनराइज ८.२७ प्रतिशत, कुमारी बैंक ७.१९ प्रतिशत र सानिमा बैंकको आम्दानी ४.७२ प्रतिशत घटेको छ।

यता नबिल बैंकको ब्याज आम्दानी समेत खुम्चिएको छ । यस अवधिमा यो बैंकको ४.२१ प्रतिशत, एनआईसी एशिया ४.१५ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २.३७ प्रतिशतले खुद ब्याज आम्दानीमा गिरावट आएको तथ्यांक सार्वजनिक भएको छ। यस समयमा सबैभन्दा कम ब्याज आम्दानी घट्नेको सिद्धार्थ बैंक रहेको छ । बैंकको ब्याज आम्दानी ०.३० प्रतिशतले घटेको छ ।

किन घट्दैछ ब्याज आम्दानी ?

बैंकहरूको ब्याज आम्दानी घट्नुको मुख्य कारण ब्याजदर घट्नु हो । यसबाहेक, कर्जा लगानी नबढेर बैंकमा नै लगानीयोग्य रकम थुप्रिँदा समेत मुख्य आम्दानीको स्रोत खुम्चिएको छ । लगानी नबढेपछि बैंकहरुले निरन्तररुपमा ब्याज घटाउँदै आएका छन् । तर पनि लगानी बढ्न सकेको छैन । बैंकहरुले ब्याजदर घटाउँदा बैंकबाट जाने कर्जामा पनि ब्याज कम हुन्छ जसले बैंकहरूको आम्दानीमा प्रभाव पर्छ । पछिल्लो चरण बैंक तथा वित्तीय संस्थाको ब्याजदर तीन वर्ष यताकै न्यून दरमा छ ।

बैंकहरुले लगानी बढाउन ब्याजदर बढाए तापनि लगानी बढ्न सकेको छैन । पछिल्लो समय बैंकमा अधिक तरलता हुँदा नेपाल राष्ट्र बैंकले बैंकहरुमा लामो समय तरलता थुप्रिएर बैंकिङ्ग प्रणालीमा नै जोखिम निम्त्याउन सक्ने हुँदा बैंकको पैसा तान्दै आएको छ । त्यस्तै विज्ञहरुकाअनुसार देशको अर्थतन्त्रमा आएको मन्दीका कारण पनि बैंकहरुको खुद ब्याज आम्दानीमा प्रभाव परेको छ । आर्थिक मन्दीका साथै व्यवसायीको कर्जा लिने मनोबलमा कमी आउँदा खुद ब्याज आम्दानी घटेको हो ।

यता लगानी भइसकेका ऋणहरू पनि आर्थिक मन्दीका कारण ‘रिकभरी’ हुन सकेका छैनन् । रिकभरी नहुँदा बैंकले ठुलो नोक्सानी समेत बेहोर्नु परेको पाइन्छ । जसले बैंकको ब्याज आम्दानीमा गिरावट आउँछ । बैंकले डिफल्ट भएका ऋणलाई कभर गर्न आफ्नो पुँजीको स्तर घटाउँदा पनि समस्या सिर्जना हुने गरेको पाइन्छ ।

नाफा नै प्रभावित बन्यो

बैंकहरुको आम्दानीको मुख्य स्रोत खुद ब्याज आम्दानीमा कमी आउँदा नाफामा गिरावट भएको देखाएको छ । सार्वजनिक विवरणअनुसार वाणिज्य बैंकहरूको नाफा समग्रमा ४.६६ प्रतिशतले घटेको हो । समीक्षा अवधिमा गत वर्षको तुलनामा ९ वाणिज्य बैंकको नाफा घटेको छ भने ११ बैंकको बढेको छ । गत आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा बैंकहरूले २८ अर्ब ७० करोड नाफा कमाएकोमा यस वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा नाफा घटेर २७ अर्ब ३६ करोडमा खुम्चिएको छ ।

दोस्रो त्रैमासमा सबैभन्दा धेरै नाफा बढाउने बैंकमा प्रभु बैंक रहेको छ । बैंकको नाफा ८४ प्रतिशतले नाफा वृद्धि गरेको हो । पूर्व बैंकर अनलराज भट्टराईले बैंकहरुले कर्जा नोक्सानी व्यवस्थाको लागि रकम छुट्टाउँदा नाफामा कमी आएको बताए । उनी बैंकले कुनैपनि समयमा दिएको ऋणलाई असुली गर्न नसक्ने अवस्था आए बैंकहरुले शतप्रतिशत नाफा/नोक्सान खाता खर्चमा लेख्नुपर्ने व्यवस्था रहेको बताउँछन् । एक अन्तरक्रिया कार्यक्रममा उनले बैंकहरुको आम्दानीको मुख्य स्रोत खुद ब्याज आम्दानीमा कमी आउँदा नाफामा गिरावट भएको उनले बताए ।