ज्योति विकास बैंकको नाफा ७० करोड 

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
ज्योति विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकले ७० करोड १५ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो नाफा अघिल्लो आर्थिक वर्षको (आब) तुलनामा ५.६६ प्रतिशतले बढी हो । अघिल्लो आबको यसै अवधिसम्म बैंकले ६६ करोड ३८ लाख ६९ हजार खुद नाफा आर्जन गरेको थियो । 

यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी र संचालन मुनाफामा वृद्धि भएको देखिन्छ । समिक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी २३.२२ प्रतिशतले बृद्धि भई १ अर्ब ९५ करोड २ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

यसका साथै बैंकको संचालन मुनाफा ५.२१ प्रतिशतले बढेर १ अर्ब २० करोड ४३ हजार रुपैयाँ पुगेको छ । यस अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा भने ३५ करोड ३० लाख १४ हजार रुपैयाँ रहेको छ । यस्तो नाफाको आधारमा बैंकले ८.२७ प्रतिशत लाभाशं वितरण गर्नसक्छ । 

असार मसान्तसम्म बैंकको प्रति सेयर आम्दानी १६.४४ रुपैयाँ छ । बैंकको प्रति सेयर नेटवर्थ भने १३२.७३ रुपैयाँ रहेको छ ।

समिक्षा अवधिसम्म बैंकको चुक्तापूँजी ४ अर्ब २६ करोड रहेको छ भने जगेडा कोषमा १ अर्ब ४ करोड रुपैयाँ संचित रहेको छ । यस अवधिसम्म बैंकको निक्षेप संकलन ५३ अर्ब रुपैयाँ र कर्जा लगानी ४८ अर्ब रुपैयाँ रहेको छ ।