तीन वाणिज्य बैंकले प्रकाशन गरे नयाँ ब्याजदर

तीन वाणिज्य बैंकले प्रकाशन गरे नयाँ ब्याजदर


 बैकिङ्ग समाचार । 
शुक्रबार तीन वाणिज्य बैंकले नयाँ ब्याजदर प्रकाशन गरेका छन्। एभरेष्ट बैंक, नेपाल एसबिआई, नबिल बैंकले नयाँ ब्याजदर प्रकाशन गरेका हुन्।

बिहीबार पनि प्रभु, सनराइज, प्राइम कमर्सियल गरि तीन बैंकले परिमार्जित ब्याजदर सार्वजनिक गरेका थिए।

एभरेष्ट बैंक
शुक्रबार परिमार्जित ब्याजदर प्रकाशन गरेको एभरेष्ट बैंकले अधिकांश बचत खाताको ४ प्रतिशतमा झारेको छ। बैंकले खातको प्रकार हेरि निक्षेपकर्तालाई अधिकतम ५.५० प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ। कूल २७ प्रकारको बचत खातामध्ये १७ वटामा ४ प्रतिशत र बाँकीमा एकमा ४.२५, अर्कोमा ४.७५, चार वटामा ५, र अर्को चारवटामा ५.५० प्रतिशत ब्याजदर दिने जनाएको छ।

यस्तै मुद्दती बचततर्फ न्यूनतम ७ देखि अधिकतम ८.२५ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ। संस्थागत बचतकर्तालाई ७ प्रतिशत मात्र ब्याज दिनेछ।

कर्जातर्फ बैंकले आधार ब्याजदरमा १.२५ देखि ५ प्रतिशत प्रिमियम थप गरि कर्जा प्रवाह गरिने जनाएको छ। चैत अन्तिममा बैंकको आधारदर ८.३४ प्रतिशत र बैंशाख अन्तिममा बैंकको स्प्रेडदर ३.८० प्रतिशत रहेको छ।

नेपाल एसबिआई बैंक
नेपाल एसबिआई बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर अनुसार कल अकाउन्टमा २ प्रतिशत, र अन्य साधारण बचत खातामा न्यूनतम ३ देखि अधिकतम ५ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ।

बैंकले मुद्दती बचततर्फ संस्थागत बचतकर्तालाई ७ र साधारण बचतकर्ताहरुलाई ८ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ।

यस्तै कर्जा लगानीकतर्फ आधारदरमा न्यूनतम १.२५ देखि अधिकतम ५ प्रतिशत प्रिमियम थप गरि कर्जा प्रवाह गरिने जनाएको छ। चैत अन्तिममा बैंकको आधारदर ९.८६ प्रतिशत रहेकोमा बैशाखमा ०.१८ ले घटेर ९.६८ प्रतिशतमा झरेको छ। बैंशाख अन्तिममा बैंकको स्प्रेडदर ३.७० प्रतिशत रहेको छ।

नबिल बैंक
निजी क्षेत्रको अर्को बैंक नबिलले पनि शुक्रबार परिमार्जित ब्याजदर प्रकाशन गरेको छ। बैंकले साधारण बचतकर्ताहरुका लागि न्यूनतम ३ देखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने जनाएको छ।

बैंकले सार्वजनिक गरेको १८ मध्ये ९ प्रकारका खातामा ३ प्रतिशत, तीन खातामा प्रत्येकमा फरक फरक ३.२५, ३.७५ र ४ प्रतिशत तथा अन्य ६ मध्ये ३/३ खातमा क्रमश ५ र ५.५० प्रतिशत ब्याजदर दिने उल्लेख छ।

मुद्दती निक्षेपमा संस्थागततर्फ ७ प्रतिशत र नवीकरणमा ७.१० प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ८.२५ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ।

यस्तै कर्जा लगानीतर्फ आधार ब्याजदरमा न्यूनतम २ देखि अधिकतम ५ प्रतिशत थप प्रिमियममा बैंकले कर्जा उपलब्ध गराउने जनाएको छ।
चैत अन्तिममा बैंकको आधारदर ७.८२ प्रतिशत र स्प्रेडदर ५.३४ प्रतिशत रहेको छ।