गोरखा – उत्तरी गोरखाको धार्चे गाउँपालिका(७, लापुबँसीस्थित न्याउली झरना पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस झरनाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै आएको छ।
बूढी गण्डकी नदीको किनारमा तम्पु पहाड र धार्चे चिङ्गार पहाडको बीचमा अवस्थित न्याउली झरना करिब ५५ मिटर अग्लो छ। अग्ला पहाडको बिचबाट निरन्तर झरिरहने पानीको फोहोराले यस क्षेत्रको प्राकृतिक सुन्दरतालाई थप मनमोहक बनाएको छ। झरनाको फेदीमा बूढी गण्डकी नदीको बहाव र वरपरको हरियालीले यहाँ पुग्ने पर्यटकलाई आकर्षित गर्ने गरेको छ।
मनास्लु पदमार्गमा यात्रा गर्ने पर्यटकका लागि न्याउली झरना आकर्षणको केन्द्र बन्दै गएको छ। पदयात्राका क्रममा होस् वा सवारीसाधनमा यात्रा गर्दा, झरनाको अवलोकन र तस्बिर खिच्न पर्यटक यहाँ रोकिने गरेका छन्।
झरनाको प्रचारप्रसारका लागि निर्माण गरिएका तस्बिर खिच्ने आकर्षक संरचनाले पनि पर्यटकलाई आकर्षित गरेको छ।
पछिल्लो समय सामाजिक सञ्जालमा न्याउली झरनाका तस्बिर तथा भिडियो सार्वजनिक हुन थालेपछि यसको चर्चा बढ्दै गएको छ। प्राकृतिक सौन्दर्यको अवलोकन गर्न, तस्बिर खिच्न र केही समय रमाउन युवायुवती तथा आन्तरिक पर्यटक समूह–समूहमा यहाँ पुग्ने गरेका छन्। झरनाको नजिक पुग्दा पानीको फोहोराले शरीर भिजाउने भएकाले पर्यटकले यहाँको प्राकृतिक वातावरणमा छुट्टै अनुभूति गर्न पाउँछन्।
न्याउली झरनाको प्राकृतिक सौन्दर्यसँगै यस क्षेत्रको भौगोलिक बनावटले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । दायाँबायाँ अग्ला पहाड, तल बूढी गण्डकी नदीको बहाव र माथिबाट झरिरहेको पानीको दृश्यले यस क्षेत्रलाई आकर्षक बनाएको छ । प्रकृतिसँग रमाउन चाहने र फोटोग्राफीमा रुचि राख्नेहरूका लागि पनि न्याउली झरना उपयुक्त गन्तव्य बन्न सक्ने सम्भावना छ ।
झरना क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि थप पूर्वाधार निर्माणको आवश्यकता देखिएको छ। झरनाको फेदीमा मोटरेबल पुल निर्माणको काम अघि बढाइएको छ भने थप आकर्षक संरचना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेद तयार गर्ने योजना बनाइएको छ। व्यवस्थित पदमार्ग, सुरक्षित अवलोकनस्थल, सरसफाइ तथा पर्यटकमैत्री पूर्वाधार निर्माण गर्न सके झरनाको आकर्षण अझ बढ्ने देखिन्छ।
प्राकृतिक स्रोत र सम्पदाले सम्पन्न धार्चे गाउँपालिकामा पर्यटन विकासको महत्त्वपूर्ण आधारका रूपमा न्याउली झरनालाई लिन सकिन्छ। यसको व्यवस्थित संरक्षण, प्रचारप्रसार र पूर्वाधार विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन सकिनेछ।
पर्यटन गतिविधि विस्तारसँगै स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना र स्थानीयवासीको जीविकोपार्जनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। प्राकृतिक सौन्दर्यलाई जोगाउँदै योजनाबद्ध रूपमा पर्यटन विकास गर्न सके न्याउली झरना उत्तरी गोरखाको एक प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ।






About Us
प्रतिक्रिया