काठमाडौं – मकवानपुरको भीमफेदीमा भएको विद्युतीय सवारी दुर्घटनामा परी ठूलो संख्यामा स्थानीय नागरिकको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज एक दिन पालिकाभरि शोक बिदा दिएको छ। गाउँपालिकाले दुर्घटनामा ज्यान गुमाएका नागरिकका परिवारलाई काजक्रिया खर्चस्वरूप प्रतिमृतक ५० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णयसमेत गरेको छ।
गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले शोक वक्तव्य जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेका हुन्। कात्तिक २६ गते बिहान काठमाडौं–सर्लाही रुटमा सञ्चालनमा रहेको विद्युतीय यात्रुवाहक सवारी मकवानपुरको भीमफेदी क्षेत्रमा दुर्घटनामा परेको थियो। दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका मात्रै १३ जनाको मृत्यु भएको थियो।
छठ पर्व मनाउन घर फर्किने क्रममा आफ्ना नागरिकले ज्यान गुमाएपछि सुन्दरपुर गाउँसहित सिङ्गो चक्रघट्टा गाउँपालिका शोकमग्न बनेको गाउँपालिकाले जनाएको छ। मृतकहरूको अन्तिम संस्कार तथा धार्मिक काजक्रिया कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रतिमृतक ५० हजार रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको अध्यक्ष यादवले बताएका छन्।
त्यस्तै, दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता पनि गाउँपालिकाले जनाएको छ। शोक बिदाका दिन गाउँपालिका क्षेत्रभित्रका प्रशासनिक तथा सार्वजनिक सेवा बन्द रहनेछन्। तर, स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक स्वास्थ्य सेवा भने नियमित सञ्चालन हुने गाउँपालिकाले स्पष्ट पारेको छ।






About Us
प्रतिक्रिया