‘विद्युतीय सवारी साधन महँगियो, सस्ता गाडीको कर यथावत ’ 

 ‘विद्युतीय सवारी साधन महँगियो, सस्ता गाडीको कर यथावत ’ 


 बैकिङ्ग समाचार ।

अर्थमन्त्री डा. युवराज खतिवडाले पेट्रोलिमय सवारी साधनभन्दा महँगा विद्युतीय सवारी साधन आयात हुन थालेपछि कर बढाएको बताएका छन् । आज शुक्रबार बजेटपछिको भर्चुअल प्रेस कन्फरेन्समा बोल्दै उनले भने ‘पेट्रोलियम पदार्थ खपत कम गर्न विद्युतीय सवारी साधन आयात खुकुलो पािरएपछि अझ महँगा गाडी भित्रिए ।’ त्यसैले कर बढाउन आफू बाध्य भएको उनले बताए ।

‘विद्युतीय सवारी साधनलाई जसरी प्रोत्साहन गरिएको थियो, त्यो अनुरुप प्रतिफल प्राप्त नभएपछि कर बढाएको हो,’ उनले भने ‘पेट्रोलियम खपत कम गर्न विद्युतीय सवारी साधन आयात खुकुलो पारिएको थियो ।’ तर महँगा विद्युतीय गाडीहरू आयात भएको उनले बताए । यसले दुई वर्षको पेट्रोलियम आयात धान्ने पैसा विद्युतीय गाडी आयातमा गयो, अनि कर बढाएको हुँ ।’ सवारी साधनको क्षमता अनुसार कर बढाइएको छ ।’ सस्ता मूल्यका गाडीमा कर नबढाएको पनि उनले जानकारी दिए ।

सरकारले बजेटमा विद्युतीय गाडीको अन्तःशुल्कमा किलोवाट अनुसार शुल्क निर्धारण गरेको छ । बजेटमार्फत विद्युतीय गाडीमा ८० प्रतिशत भन्सार महसुल तोकेको छ भने गाडीको क्षमता (किलोवाट) अनुसार ४० देखि ८० प्रतिशतसम्म अन्तःशुल्क निर्धारण गरिएको छ ।
५० किलोवाट क्षमतासम्मका सवारी सवारी साधनको लागि ३० प्रतिशत, ५० देखि १०० किलोवाटसम्मका लागि ४० प्रतिशत, १०० देखि १५० किलोवाट क्षमतासम्मका लागि ५० प्रतिशत, १५० देखि २०० किलोवाट क्षमतासम्मका लागि ६० प्रतिशत शुल्क तोकिएको छ ।

त्यसैगरी २०० देखि ३०० किलोवाट क्षमतासम्मका लागि ७० र ३०० किलोवाटभन्दा माथिका विद्युतीय सवारीमा ८० प्रतिशत अन्तः शुल्क तोकिएको छ । सरकारले कर बढाएपछि कतिपय विद्युतीय सवारी साधनको मूल्य बढेर अब दोब्बर पुग्ने भएको छ ।