शोधनान्तर स्थिति हालसम्मकै उच्च घाटामा, विदेशी मुद्रा संचिति ९ अर्ब ५८ करोड डलरमा खुम्चियो

शोधनान्तर स्थिति हालसम्मकै उच्च घाटामा, विदेशी मुद्रा संचिति ९ अर्ब ५८ करोड डलरमा खुम्चियो

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
चालू आर्थिक बर्षका सुरुवातसँगै घाटामा गएको शोधनान्तर स्थिति फागुनसम्ममा आईपुग्दा हालसम्मकै उच्च हुन पुगेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोड रुपैयाँले घाटामा रहेको छ । तर अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब १ करोडले बचतमा रहेको थियो ।

यसैगरी विदेशी मुद्रा संचितीमा १८.५ प्रतिशतले गिरावट आएको छ । २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड अमेरिकी डलर विदेशी मुद्रा संचिती रहेकोमा २०७८ फागुन मसान्तसम्ममा ९ अर्ब ५८ करोड अमेरिकी डलर कायम भएको छ ।

यसैगरी समीक्षा अवधिमा चालु खाता ४ खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ५१ अर्ब ४२ करोड रुपैयाँले घाटामा रहेको थियो । आर्थिक वर्ष २०७८/७९ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न मात्र पर्याप्त रहने देखिन्छ । २०७८ फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (अघिल्लो आर्थिक वर्षको), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७.४ प्रतिशत, ५५.६ प्रतिशत र २२.० प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।

तर सो अबधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले वृद्धि भई १६ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही खुद प्रत्यक्ष वैदेशिक लगानी १० अर्ब १८ करोड रुपैयाँ मात्र भित्रिएको थियो ।