‘ऋणीलाई थप कर्जा दिनुपर्ने अवस्था आयो’

‘ऋणीलाई थप कर्जा दिनुपर्ने अवस्था आयो’


                                                              गण्डकी विकास बैंक, वालिङ शाखा प्रमुख, चक्रपाणि बस्याल 

यतीबेला कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र डामाडोल छ । लामो समयको लकडानका कारण नेपालमा पनि यसको प्रतक्ष प्रभाव पारेको छ । यसको असर बैंक तथा वित्तिय संस्थाहरुमा पनि परेको देखिन्छ । आगामी दिनमा यसको प्रभाव झन् गम्भीर हुँदै जाने देखिन्छ । बैंकिङ कारोबारहरु हुन नसकेका कारण व्यवसायमा असर परिरहेको छ । सरकारले डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने नीति अगाडी सारेको छ । तर ग्रामिण भेगमा डिजिटल बैंकिङ कारोबारलाई लिएर आम जनताहरु असक्षम देखिएका छन् । अर्थतन्त्र बढ्दो संक्रमणको त्रासमा रहेको बेला सरकार आगामी आर्थिक वर्षको बजेटको तयारीमा पनि लागेको छ । अबका दिनमा आर्थिक क्षेत्रलाई कसरी अगाडी बढाउने भन्ने विषयको दिशानिर्देश आगामी बजेटले गर्नेछ । यसैबीच, लक डाउनका कारण वित्तीय क्षेत्रमा देखिने जोखिम र ग्रामिण भेगमा डिजिटल बैंकिङ कारोबारको पहुँच लगायतका विषयमा केन्द्रीत रहेर गण्डकी विकास बैंकका एक कर्मचारी एवंम स्याङजा जिल्ला वालिङ, शाखाका प्रमुख चक्रपाणि बस्यालसँग बैकिङ्ग समाचारका लागि मनोज रेग्मीले गरेको कुराकानीको सम्पादित अंशः 

मुलुकले लामो समयसम्म लकडाउन खेपिरहेको छ । तर, बैंकका शाखाहरु सञ्चालन गर्न भने सरकारले खुकुलो पारिदिएको छ । के यस्तो अवस्थामा शाखा सञ्चालन गर्न सक्नुभएको छ त ? 

गण्डकी विकास बैंक वालिङ शाखा जिल्लाकै सबैभन्दा ठुला शाखा हो । ठुलो शाखा भएका नाताले पनि त्यहाँ धेरै ग्राहकहरुको आगमन हुने नै भयो । तर, हामीले माथिको निर्देशन अनुसार कर्मचारीको आलोपालो, बैंक भित्र उचित व्यवस्थापन, माक्स, सेनिटाइजर लगायतका कुराहरुमा ख्याल गर्दै शाखा सञ्चालन गरिरहेका छौं । यस्तो अवस्थामा बैंकमा त्यती भिड भने छैन । कहिलेकाहीँ १५ /२० जना ग्राहकहरु आउनुहुन्छ । हामीले एक-एक जनालाई मात्रै बैंकमा छिर्न दिएका छौँ । यससँगै यतीबेला सामाजिक सुरक्षा भत्ता बाँड्ने कुराहरु पनि आएका थिए । तर यसपाली चाहीँ स्थानीय तहका पदाधिकारीहरुले घरघरै गएर वितरण गरेको हुनाले बैंकलाई अलिक सहज भएको अवस्था छ । 

तपाईको बैंकमा कर्जा लिनेको शंख्या कति छन ? यदी कोही यस्तो अवस्थामा कर्जा लिन आएको खण्डमा के गर्नुहुन्छ ? 

हाम्रो शाखामा धितो राखेर कर्जा लिनेको शंख्या करिव १६० जना छन् । यसमा पनि ५ ७ जनाले २ करोडभन्दा धेरै कर्जा लिएका छन् । एक ग्राहकले ५ करोड कर्जा लिएका छन् । तर, लकडाउनल जारी भइसकेपछि भने लिएको कर्जाको सवा ब्याज कसैले पनि बुझाएका छैनन् । यसमा अवधि त थपिएको छ तर आउने नआउने विषयमा भने अन्यौलता थपिएको छ । त्यसैले बैंकहरुलाई यतिबेला अत्यान्तै अफठ्यारो छ । चौनौती थपिएका छन् ।

राष्ट्र बैंकले अब बैंकहरुले डिजिटल कारोबारलाई जोड दिन निर्देशन दिएको छ । डिजिटल कारोबारलाई ग्रामीण तहसम्म जोड्न के–के गरिनुपर्छ ? 

डिजिटल कारोबार भनेको सूचना प्रविधिसँग सम्बन्धित कुरा हो । पहिले त यसबारे मानिसहरुमा चेतना हुनुपर्छ । ग्रामीण क्षेत्रमा बस्ने मानिसहरुले प्रविधिको प्रयोग गर्न जान्ने हुनुपर्छ । यसमा मलाई लाग्छ पैसा निकाल्न अथवा पैसा डिपोजिट लगायतका समान्य कुराहरुमा मात्रै समेटिन्छन् । तर कर्जाका विषयमा ठुला कागजातहरु र ग्राहकै नियतीमा भर पर्ने हुँदा उनीहरुसँग फेस टु फेस जोडीदा राम्रो हुन्छ । मोवाईबाटै कर्जाको कुरा गर्न मिल्दैन । यससँगै, इन्टरनेट लगायत कनेक्टिभीटीसँग सम्बन्धित प्रविधिहरुले पनि भरपर्दो रुपमा कार्य गर्नुपर्ने हुन्छ । अहिले डिजिटल कारोबार गरेर मात्रै वित्तीय क्षेत्रमा ठूलो योगदान पुग्छ भन्ने हुँदैन । किनकि, ग्रामीण क्षेत्रमा बस्ने मानिहरुले शहरमा जसरी दैनिक जस्तो बैंकिङ सुविधा प्रयोग गर्नुपर्ने हुँदैन । अहिलेको अवस्थामा सहरी क्षेत्रको अवस्था हेरेर कारोबार खुलाउने, व्यापार व्यवसायहरुलाई चलायमान बनाउने कुरा बढी महत्वपूर्ण हुन्छ ।

कृषि क्षेत्रमा बैंकहरुको लगानी बढ्दो छ । यस क्षेत्रको लगानीमा जोखिम छ कि छैन ? 

अन्य क्षेत्रको तुलनामा कृषि क्षेत्रमा बैंकहरुको लगानी कम छ । यद्यपी कृषि क्षेत्रको लगानीमा अरु क्षेत्रको तुलनामा जोखिम कम छ । अहिले आएर सरकारका साथै निजी क्षेत्रले पनि कृषिलाई महत्व दिन थालेका छन् । नेपालमा कृषिमा बैंकहरुको ठूलो लगानी प्रवाहित छैन । कागजमा लगानी गरेको देखिएपनि फिल्डमा लगानी कम छ । त्यसमाथि अहिले कृषि क्षेत्रलाई अनुदान, सहुलियत लगायत दिएको छ । त्यसैले, अरु क्षेत्रमा जोखिम बढे तापनि कृषि क्षेत्रको बैंकिङ लगानीमा धेरै जोखिम छैन ।

लकडाउनको अबस्थासँगै आगामी दिनमा बैंक तथा वित्तीय संस्थाहरु कसरी अगाडी बढ्नुपर्ला ? 

अबका दिनमा बैंकहरुले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ । लगानीका मोडलहरु पनि परिवर्तन गर्नुपर्ने आवश्यकता देखिन्छ । कोरोनाले कति प्रभाव परेको छ र आगामी दिनमा कति प्रभाव पार्छ भनेर यकिनका साथ भन्न सकिने अवस्था छैन । हिजो बैंकहरुले परम्परागत रुपले एउटै क्षेत्रमा र एउटै वर्गका व्यक्तिहरुलाई ठूला ठूला लगानी गर्दै आएका थिए । अब त्यो अवस्था छैन । बैंकहरुले उत्पादनमूलक क्षेत्र र कृषि क्षेत्रलाई नै बढी जोड दिनुपर्ने हुन्छ । अब हाम्रै बैंकको कुरा गर्दा एक व्यक्तीले ५ करोडको कर्जा लिनुभएको छ । उहाँलाई अब यस्तो आपत्तिको अवस्थामा चल्न गाह्रो हुन्छ । त्यसैले उसको आगामी दिनमा कारोबार सञ्चालन र उद्योग व्यवस्थापन गर्नका लागि बैंकले थप कर्जा दिनुपर्छ ।

उसलाई बैंकले यस्तो अवस्थामा डिमान्ड लोनको व्यवस्था गर्न सक्नुपर्छ । यस्तै अबका दिनमा ठूला कर्जा भन्दा पनि साना तथा मझौला व्यवसायका कर्जाहरुलाई बढी प्राथमिकता दिनुपर्ने हुन्छ । हामीले यस्तो अवस्थामा माथिबाट आएको आदेशको पालना गर्ने हो । राज्यका विभिन्न निकायका साथमा अन्तर्राष्ट्रिय संस्थाहरुले पनि नेपालको अर्थतन्त्रलाई कोरोनाले पार्ने प्रभावको मूल्यांकन र विश्लेषण गरिरहेका छन् । तीनलाई पनि आधार मानेर बैंकहरु अगाडी बढ्नुपर्छ । मूख्य कुरा भनेको, अबका दिनमा बैंकहरुले कर्जा वितरणको शैली परिवर्तन गर्नु आवश्यक छ । उत्पादनशील क्षेत्रमा र साना तथा मझौला व्यवसायमा कर्जा प्रवाहलाई प्राथमिकतामा राखेर अगाडी बढ्नुपर्छ ।

सरकारले कस्ता नितिहरु ल्याएको खण्डमा बैंक तथा वित्तिय संस्थाहरु कम जोखिममा पर्लान ? 

कोरोनाको कहर र लामो समयको लकडाउन खेपिरहेका आम जनताहरुले राष्ट्र बैंकबाट पाइने सहुलियतको अपेक्षा गर्नु स्वभाविक नै हो । तर यतीबेला साना उद्योग, बैंक तथा वित्तिय सस्थाहरु सबैलाई गाह्रो छ । अझ सरकारलाई त झनै गाह्रो छ । त्यसैले सरकारले ब्याजदर घटाउने, कृषि उत्थानका लागि सहुलियत क्रणको व्यवस्था ल्याउनुपर्छ । अब उकास्ने भनेको कृषि क्षेत्रलाई नै हो । यस्तै बैंकहरुलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने नीतिहरु ल्याउनुपर्छ ।