बैंकहरूले आफ्ना कर्मचारीहरूमा कति खर्च गर्छन् ? 

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी खर्चमा अगाडि, स्ट्यान्डर्ड चार्टर्ड बैंक सबैभन्दा कम


काठमाडौं – नेपालका वाणिज्य बैंकहरूले कर्मचारी तलब, सुविधा र अन्य कर्मचारीसम्बन्धी व्यवस्थापनमा अर्बौँ रुपैयाँ खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष ०८२/८३ को चैतसम्ममा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा धेरै कर्मचारी खर्च गर्ने बैंक बनेको छ। ठुलो शाखा सञ्जाल भएका सरकारी बैंकहरूमा खर्च उच्च देखिएको छ। 

सीमित शाखा तथा डिजिटल सेवामा बढी केन्द्रित बैंकहरूमा कर्मचारी खर्च तुलनात्मक रूपमा कम देखिएको छ। पछिल्लो समय डिजिटल बैंकिङ्गको प्रयोग बढ्दै गए पनि नेपालका वाणिज्य बैंकहरू अझै पनि मानव स्रोतमा धेरै निर्भर देखिन्छन्। शाखा, सेवा केन्द्र, कर्जा अनुगमन र ग्राहक सेवाका लागि ठुलो कर्मचारी संरचना आवश्यक रहँदा खर्च बढेको छ।

तर, विदेशी साझेदारी भएका वा दक्षतामुखी मोडेल अपनाएका बैंकहरू कम जनशक्तिमै कारोबार विस्तार गर्न सक्षम देखिएका छन्। बैंकिङ्ग क्षेत्रमा आगामी वर्षहरूमा एआई र डिजिटल सेवा बढ्दै जाँदा कर्मचारी खर्चको यो तस्बिर फेरिन सक्ने जानकारहरू बताउँछन्।

राष्ट्रिय वाणिज्य बैंकले कर्मचारी खर्चमा ३ अर्ब ७१ करोड ४५ लाख ९० हजार रुपैयाँ खर्च गरेको छ। दोस्रो स्थानमा नबिल बैंक छ। यसले ३ अर्ब २० करोड ५० लाख १० हजार रुपैयाँ खर्च गरेको छ। त्यसपछि ग्लोबल आइएमई बैंकले ३ अर्ब ९ करोड ९० लाख रुपैयाँ खर्च गरेको छ। चौथो स्थानमा नेपाल बैंक छ। यसको कर्मचारी खर्च ३ अर्ब ४ करोड ३७ लाख रुपैयाँ पुगेको छ। लक्ष्मी सनराइज बैंक ३ अर्ब ३ करोड ७४ लाख ९० हजार रुपैयाँसहित पाँचौँ स्थानमा छ।

त्यसपछि कुमारी बैंकले २ अर्ब ७८ करोड १७ लाख रुपैयाँ र कृषि विकास बैंकले २ अर्ब ७७ करोड ७९ लाख रुपैयाँ खर्च गरेको देखिन्छ। प्रभु बैंकले २ अर्ब ६८ करोड ८१ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ। त्यस्तै, हिमालयन बैंकले २ अर्ब ४७ करोड ७६ लाख ३० हजार, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले २ अर्ब ४० करोड ६० लाख ७० हजार रुपैयाँ कर्मचारीमा खर्च गरेका छन्।

मध्यम समूहमा एनआईसी एशिया बैंकको खर्च २ अर्ब २५ करोड ६ लाख, सिद्धार्थ बैंकको २ अर्ब १९ करोड ४२ लाख ४० हजार, एनएमबी बैंकको १ अर्ब ८९ करोड ३८ लाख र माछापुच्छ्रे बैंकको १ अर्ब ७६ करोड ८२ लाख ६० हजार रुपैयाँ छ।त्यसैगरी एभरेष्ट बैंकले १ अर्ब ६० करोड ६८ हजार, सिटिजन्स बैंक इन्टरनेसनलले १ अर्ब ५६ करोड ७९ लाख ५० हजार, प्राइम कमर्सियल बैंकले १ अर्ब ३० करोड ८१ लाख ८० हजार रुपैयाँ खर्च गरेका छन्।

कम खर्च गर्ने बैंकहरूमा सानिमा बैंकले १ अर्ब २८ करोड ६५ लाख ४० हजार, नेपाल एसबीआई बैंकले १ अर्ब २५ करोड ९७ लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ७७ करोड ६९ लाख २० हजार रुपैयाँ कर्मचारी खर्च गरेका छन्।