बैंकिङ्ग समाचार, काठमाडौं ।
पछिल्लो एक महिनामै नेपाल राष्ट्र बैंकको कूल सम्पत्ति ८० अर्ब रुपैयाँले घटेको छ । बैंकको सम्पत्ति मंसिर महिनाको तुलनामा पुस महिनामा ८० अर्ब ७ करोड ५४ लाख रुपैयाँले घटेको हो । बैंकले प्रकाशित गरेको पुस महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको कुल सम्पत्ति १४ खर्ब ९० अर्ब रुपैयाँ छ । जुन अघिल्लो महिना अर्थात मंसिर महिनामा १५ खर्ब ७० अर्ब रुपैयाँ थियो ।
त्यस्तै, बैंकले तिर्नुपर्ने दायित्व पनि घटेको छ । अघिल्लो महिनामा ११ खर्ब ८६ अर्ब रुपैयाँ रहेको बैंकको दायित्व पुस महिनमा घटेर ११ खर्ब २५ अर्ब रुपैयाँ रहेको छ । ५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ खर्ब ५९ अर्ब रुपैयाँ सञ्चित छ । जुन मंसिरको तुलनामा भने घटी हो । मंसिरमा बैंकको जगेडा कोषमा ३ खर्ब ७९ अर्ब रुपैयाँ सञ्चित थियो ।
त्यस्तै, बैंकको जम्मा दायित्व तथा पुँजीअंश १४ खर्ब ९० अर्ब रुपैयाँ छ । बैंकले नेपाल सरकारलाई २ अर्ब ५० करोड रुपैयाँ बचत रकम तिर्नुपर्ने देखिएको छ । मंसिरमा ८ खर्ब रुपैयाँ लगानी गरेको बैंकले पुसमा ७ खर्ब १४ अर्ब रुपैयाँ लगानी गरेको देखिन्छ ।
प्रतिक्रिया