सेयर बजारमा समियमित भएर लगानी गरौं: गर्भनर अधिकारी

सेयर बजारमा समियमित भएर लगानी गरौं: गर्भनर अधिकारी

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बुझेर मात्रै सेयर बजारमा लगानी गर्न आग्रह गरेका छन् । उनले कोरोना महामारीको समयमा अन्यत्र लगानी नहुँदा सेयर बजारमा लगानी ओइरिएको पनि बताए । बिहीबार अर्थ समितिमा भएको छलफलका क्रममा गभर्नर अधिकारीले सेयर बजारमा बुझेर मात्रै लगानी गर्न र यसका लागि पब्लिक सचेतना बढाउनु पर्ने भन्दै वित्तीय विवरण हेरेर मात्रै लगानी गर्न आग्रह गरेका हुन् ।

अधिकारीले अहिले वित्तीय क्षेत्रमा देखिएको मुख्य चुनौती मूल्यवृद्धिलाई तोकिएको सीमाभित्र राख्ने, तरलता व्यवस्थापन र आयात नियन्त्रण गर्ने विषय रहेको बताएका छन् । बिहीबार संघीय संसदको अर्थ समितिमा बोल्दै गभर्नर अधिकारीले यी तीन समस्याले अर्थतन्त्रलाई विस्तारै गाँज्दै गएको बताए ।

बाढीका कारण धानबालीलगायतमा पारेको असर मूल्यवृद्धिमा देखिने उनले स्पष्ट पारे । अहिलेका आर्थिक सूचकहरूलाई सुधार्न नसके साढे ६ प्रतिशतको सीमाभित्र मूल्यवृद्धि राख्न निकै चुनौतीपूर्ण हुने उनले बताए । ‘अहिले कोभिड महामारीका बेलामा नै यति धेरै बढेको आयात सामान्य अवस्थामा झन् डरलाग्दो हुनसक्नेतर्फ हामीले ध्यान दिन जरुरी छ’ अधिकारीले भने ।

चालू आर्थिक वर्षको सुरूतिर विदेशी मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब रहेकोमा अहिले १३ खर्ब १९ अर्बमा खुम्चिएको उनले बताए । उनका अनुसार यो अवधिमा विदेशी विनिमय सञ्चिति ६ प्रतिशतले घटेको छ र निरन्तर घट्दो क्रममा देखिएको छ । विदेशी लगानी र रेमिट्यान्स घट्दै गरेको अवस्थामा आयातमा हुने भुक्तानी ह्वात्तै बढ्नु अर्को चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।

तरलता अभावको समस्या पनि कायम रहेको र त्यसको व्यवस्थापनका लागि राष्ट्र बैंकले आफ्ना सबै मौद्रिक उपकरण परिचालन गरेको उनले बताए । ‘चालू आर्थिक वर्षमा हालसम्म ४ खर्ब ११ अर्ब कर्जा गइसकेको छ, तर निक्षेप ६४ अर्ब मात्रै थपिएको छ’ उनले भने ‘साढे ३ खर्ब रुपैयाँको अन्तर यहाँ छ भनेपछि तरलता अभाव हुने नै भयो ।’ 

अहिलेसम्म परिचालन भएको ५० प्रतिशत कर्जा आयातको भुक्तानीमा गएको उनले बताए । जसकारण तरलता अभावको स्थिति आएको उनको भनाइ छ। चालू आर्थिक वर्षको मंसिर तेस्रो हप्तासम्म २३ खर्ब ८६ अर्ब रुपैयाँ बराबर रिपो परिचालनमार्फत तरलता प्रशोचन गरेर बजार पठाइएको उनले जानकारी गराए ।