बैंकिङ्ग समाचार, काठमाडौं ।
गण्डकी प्रदेशमा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनको दर उल्लेख्य रुपमा घटेको छ । सो प्रदेशका बैंक तथा वित्तीय संस्थाको अघिल्लो आर्थिक वर्षमा ५० प्रतिशतले बढेको निक्षेप गत आवमा २२.४ प्रतिशतले मात्र वृद्धि भएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा गण्डकी प्रदेशका बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप २२.४ प्रतिशतले बढेर ३ खर्ब ६८ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा उक्त प्रदेशका बैंक तथा वित्तीय संस्थाले ५०.२ प्रतिशतले निक्षेप बढाएका थिए ।
त्यसैगरी गत आवमा गण्डकी प्रदेशका बैंक तथा वित्तीय संस्थाले कर्जा प्रबाह २७.७ प्रतिशतले वृद्धि गरी कुल ३ खर्ब १५ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो लगानी ३०.२ प्रतिशतले वृद्धि भएको थियो । गत आवमा गण्डकी प्रदेशका बैंक तथा वित्तीय संस्थाले २२.४ प्रतिशतले निक्षेप वृद्धि गर्दा कर्जा विस्तार २७.७ प्रतिशतले गरेका छन् ।
२०७८ असार मसान्तमा यस प्रदेशमा निक्षेपकर्ताहरुको कुल संख्या ४१ लाख ६४ हजार ५७८ पुगेको छ । यो संख्या अघिल्लो आव अर्थात २०७७ असार मसान्तको तुलनामा १२.९ प्रतिशतले बढेको हो । अघिल्लो आवमा गण्डकी प्रदेशका निक्षेपकर्ताको संख्या ३४.५ प्रतिशतले बढेको थियो ।
केन्द्रीय तथ्याङ्क विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादन ३ खर्ब ७२ अर्ब रहेको अनुमान छ । यो राष्ट्रिय अर्थतन्त्रको ८.७ प्रतिशत हुन आउँछ । गत आर्थिक वर्षमा यस प्रदेशको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने अनुमान छ । अघिल्लो आवमा आर्थिक वृद्धिदर ऋणात्मक १.६ प्रतिशतले नकारात्मक रहेको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्लाहरुमा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल ०.६ प्रतिशतले बढेको छ । धान, मकै, गहुँ, जौ, फापर र उखु खेती गरिएको क्षेत्रफल घटेको छ भने कोदो, आलु, भटमासको बालीले ढाकेको क्षेत्रफलमा क्रमशः १.१ प्रतिशत, ०.६ प्रतिशत र ०.७ प्रतिशतले वृद्धि भएको छ ।
गत आर्थिक वर्षमा खाद्य तथा अन्य बालीको उत्पादन ०.७ प्रतिशतले बढेको छ । खाद्य बालीमा कोदोको उत्पादन १.२ प्रतिशत, आलुको उत्पादन ८.२ प्रतिशत, भटमासको उत्पादन ६.५ प्रतिशतले वृद्धि भएको छ । खाद्य तथा अन्य बाली मध्येधान २.७ प्रतिशत, गहुँ ४.५ प्रतिशत र फापर ०.२ प्रतिशत घटेको छ । तरकारी तथा बागवानी तर्फको उत्पादन १.३ र फलफूल तथा मसला बालीको उत्पादन १०.३ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ ।
२०७८ असार मसान्तमा गण्डकी प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुले कृषि, वन र माछापालन क्षेत्रमा २६ अर्ब ३७ करोड कर्जा लगानी गरेका छन् । जुन यस प्रदेशमा प्रवाहित कुल कर्जाको ८.५ प्रतिशत हो । गत आवमा यस प्रदेशका उद्योगहरुको औसत उत्पादन क्षमता उपयोग ४० प्रतिशत रहेको छ ।
२०७८ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको औद्योगिक क्षेत्रमा ६१ अर्ब ६९ करोडको कर्जा लगानी रहेको छ । यो रकम यस प्रदेशमा प्रवाहित कुल कर्जाको १९.९ प्रतिशत हो ।
निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनामध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कार्य प्रगति करिब ८१ प्रतिशत र उत्तर–दक्षिण लोकमार्ग (कालीगण्डकी कोरिडोर) को कार्य प्रगति करिव ७२.५ प्रतिशत रहेको छ । मध्य पहाडी लोकमार्गको गोरखा–लमजुङ खण्डको करिब १११ कि.मि.मध्ये ५५ प्रतिशत र कास्की–पर्वत– बाग्लुङ खण्डको करिब २४५ कि.मि. मध्ये ८० प्रतिशत कार्य सम्पन्न भएको छ ।
प्रतिक्रिया