मुलुकको शोधनान्तर स्थिति ८३ अर्ब ४१ करोडले घाटामा

मुलुकको शोधनान्तर स्थिति ८३ अर्ब ४१ करोडले घाटामा

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्टले मुलुकको शोधनान्तर स्थिति ८३ अर्ब ४१ करोडले घाटामा रहेको देखाएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनाको विवरणअनुसार भुक्तानी सन्तुलनको स्थिति शोधनान्तर ८३ अर्ब ४१ करोड घाटामा रहेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोडले बचतमा थियो । मुलुकमा भित्रिने र मुलुकबाट बाहिरिने रकमको अन्तरलाई शोधनान्तर स्थितिले जनाउँछ ।

बैंकिङ खबर । समीक्षा अवधिमा चालु खाता रु.१०६ अर्ब ७५ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२५ अर्ब १६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २१ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ९० करोड १५ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३६.३ प्रतिशतले कमी आई रु.१ अर्ब २५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २४.६ प्रतिशतले वृद्धि भई रु.३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१ अर्ब ९६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.२ अर्ब ४४ करोड रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.८३ अर्ब ४१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.६७ अर्ब ६३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७० करोड ४३ लाखले घाटामा रहेको
छ ।
कुल विदेशी विनिमय सञ्चिति
२०७८ असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.६ प्रतिशतले कमी आई २०७८ भदौ मसान्तमा रु.१३०६ अर्ब ९५ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ भदौ मसान्तमा ५.२ प्रतिशतले कमी आई ११ अर्ब १४ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु.१२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ भदौ मसान्तमा ७.७ प्रतिशतले कमी आई रु.११४८ अर्ब ६९ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१५४ अर्ब ३९ करोड रहेकोमा २०७८ भदौ मसान्तमा २.५ प्रतिशतले वृद्धि भई रु.१५८ अर्ब २७ करोड पुगेको छ । २०७८ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत रहेको छ ।

सञ्चिति पर्याप्तता सूचक
आर्थिक वर्ष २०७८/७९ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ८.६ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०७८ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३०.६ प्रतिशत, ६४.७ प्रतिशत र २५.३ प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।