इच्छाराजको वयानः सहकारीको पैसाले घर बनाए, घर बेच्दा घाटा लागेर पैसा सकियो

इच्छाराजको वयानः सहकारीको पैसाले घर बनाए, घर बेच्दा घाटा लागेर पैसा सकियो

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  
गत असोज १७ गते नेपाल प्रहरीको कन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा सहकारी विभागले पठाएको एउटा पत्र दर्ता भयो । पत्रको आशय थियो– सिभिल सहकारीमा संस्थापक अध्यक्ष इच्छाराज तामाङ र उनको समुहले रकम हिनामिना गरेर ठगी गरेका छन्, उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्यो ।

विभागको पत्र पाउनुभन्दा निकै अघिदेखि नेपाल प्रहरी र सीआईबीलाई तामाङ र उनको समुहले सहकारीमा जम्मा भएको बचत हिनामिना गरेकोले उनीहरुलाई कारबाही गरी रकम फिर्ता गराई पाउँ भन्ने अनुरोध धेरै नै आउने गरेका थिए । तर, प्रहरीलाई समस्या थियो । समस्या के थियो भने सहकारी वा बैंक वित्तीय संस्थामा भएको रकम हिनामिनाको मुद्दा प्रहरीले सोझै हेर्ने मिल्दैनथ्यो ।

सीआईबीले सहकारी वा बैंक वित्तीय संस्थामा भएको अपचलन, हिनामिनाको अनुसन्धान गर्न कि त सम्बन्धित नियामक (नेपाल राष्ट्र बैंक वा सहकारी विभाग) ले पत्राचार गर्नुपर्ने हुन्थ्यो कि त सम्बन्धित मन्त्रालयले पत्राचार गरेको हुनुपथ्र्याे । तर, नेपाल राष्ट्र बैंक, सहकारी विभाग वा अर्थमन्त्रालय, सहकारी मन्त्रालय कसैले पनि सीआईबीलाई यस्तो पत्र लेखेकै थिएनन् ।

बचतकर्ता भनिरहेका थिए– प्रहरीले सत्ताको आडमा हाम्रो रकम ठग्ने तामाङलाई कारबाही गरेन । जबकि सहकारी विभागको असक्षमताको अपजस सीआईबीले बोकेर हिड्नु परिरहेको थियो ।

असोज १७ गते पत्र दर्ता हुने वित्तिकै सीआईबीले त्यसको भोलिपल्ट अर्थात असोज १८ गते नै तामाङ सहित सहकारीमा आवद्ध १२ जनालाई पक्राउ गर्यो ।

सीआईबीले पक्राउ परेका १२ जनाबारे असोज १९ गते विस्तृत जानकारी दियो । उनीहरुलाई सिभिल सहकारीका १३७ जना बचतकर्ताको ७० करोड ८७ लाख १३ हजार रुपैयाँ हिनामिना गरेकोले सहकारी ऐन २०७४ को दफा १२२ अनुसार कसुर गरेको अभियोगमा पक्राउ गरिएको सीआईबीले जानकारी दियो ।

सीआईबीले तामाङ सहित पक्राउ गरेका १२ जनामाथि अनुसन्धान गर्दै जादाँ उनी र उनको समुहले ठगी गरेका भनिने व्यक्तिहरु थपिदै गए । अहिलेसम्म तामाङ विरुद्ध ११२६ जनाले जाहेरी दिएको र उनले ४ अर्ब ६१ करोड २५ लाख ३४ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको सीआईबीका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए ।

‘जाहेरी दिनेको संख्या थपिदैछ, हिनामिना भएको रकम पनि बढ्दै गएको छ, प्रत्येक दिन पीडित र रकम बढिरहेको छ,’ सीआईबी प्रवक्ता महतोले विकासन्युजसँग भने ।

तामाङ बनाएका थिए २२ कम्पनी

तामाङले आफ्नो व्यवसायिक साम्राज्य तयार पार्न २२ कम्पनी बनाएका थिए । यी प्राय सबै कम्पनीमा तामाङको नै अधिकांश स्वामित्व थियो । यसमध्ये बढी रकम चलाउने कम्पनीहरुमा सिभिल होम्स, सिभिल इस्टेट, सिभिल अपार्टमेन्ट र सिभिल बिजनेस कम्प्लेक्स थिए । तर, सिभिल सहकारीको बढी रकम भने सिभिल होम्सले नै चलाएको पाइएको छ ।