वाणिज्य बैंकहरुले दुई महिनामा कमाए साढे १३ अर्ब नाफा, भदौमा मात्र ७ अर्ब बढी

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए साढे १३ अर्ब नाफा, भदौमा मात्र ७ अर्ब बढी

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा साढे १३ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकको मासिक विवरण अनुसार बैंकहरुको दुई महिनामा १३ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएका हुन्।

भदौ महिनामा मात्रै बैंकहरुले ७ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएका छन्। अघिल्ले महिना अर्थात साउनमा वाणिज्य बैंकहरुले ६ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएका थिए। साउनको तुलनामा भदौमा नाफा अझै बढेको हो।

भदौसम्ममा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै १ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ। बैंकले भदौ महिनामा मात्रै ९९ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको तथ्याँकले देखाउँछ।

यसैगरी दुई महिनामा धेरै नाफा कमाउने बैंकको दोस्रो स्थानमा ग्लोबल आईएमई बैंक रहेको छ। उसले दुई महिनामा ९८ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ।

नविल बैंकले ९३ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ भने एनआइसि एशिया बैंकले ८१ करोड रुपैयाँ, कृषि विकास बैंकले ७८ करोड रुपैयाँ र सिद्धार्थ बैंकले ७५ करोड रुपैयाँ नाफा कमाएका छन्।

यस अवधिमा १२ वटा बैंकले ५० करोड रुपैयाँभन्दा धेरै नाफा कमाएका छन् भने बाँकी १५ वटा बैंकले ५० करोड रुपैयाँभन्दा कम नाफा कमाएका छन्।

नेपाल बैंकले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सबैभन्दा कम १५ करोड ९४ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ। यस्तै सिभिल बैंकले १९ करोड रुपैयाँ नाफा कमाएको छ भने सेञ्चुरी बैंकले २१ करोड १३ लाख, बैंक अफ काडमाण्डूले २१ करोड ६५ लाख र नेपाल एसविआई बैंकले २३ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ।