बैंकिङ्ग समाचार, काठमाडौं ।
तीन वटा वाणिज्य बैंक र नेपाल पूर्वाधार बैंक गरी चार वटा बैंकले प्रस्ताव गरेकाे लाभांश दुई दिनभित्रै स्वीकृत गर्ने राष्ट्र बैंकले तयारी गरेको छ । चार वटै बैंकहरुका सञ्चालक समितिले यसअघि सेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेर राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाएकाेमा राष्ट्र बैकले पनि चार वटै बैंककाे लाभांश प्रस्ताव जति सक्दाे छिटाे स्वीकृत गर्ने तयारी गरेकाे हाे ।
राष्ट्र बैंक स्रोतका अनुसार तीनवटा वाणिज्य बैंक र निफ्राकाे लाभांश बुधबारभित्रै स्वीकृत हुनेछ । ‘हामी जति सक्दो चाँडो नै लाभांश स्वीकृतिका लागि तयारी गरिरहेका छौं, हालसम्म लाभांश स्वीकृतिका लागि ४ वटा बैंक पुगेका छन्, उनीहरुको एक दुई दिनमै स्वीकृत हुन्छ, अन्य ८ वटा वाणिज्य बैंकको वित्तीय विवरण स्वीकृत हुने चरणमा छ,’ राष्ट्र बैंक स्रोतले भन्यो ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीलाई ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । असोज ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कर समेत सो मात्राको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
वाणिज्य बैंकहरुमा माछापुच्छ्रे बैंकले सबैभन्दा पहिला लाभांश प्रस्ताव गरिसकेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । यस बैंकले पनि लाभांश स्वीकृतिका लागि राष्ट्र बैंक पठाइसकेको छ ।
यस्तै, सानिमा बैंकले पनि गत बिहिबार लाभांश स्वीकृतिका लागि राष्ट्र बैंक पुगेको छ । सानिमाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेको छ । बैंकले १७ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद गरी १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यस्तै, नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको सिटिजन्स बैंक इन्टरनेशनलले पनि सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ ।
बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२.९१३ प्रतिशत बोनस र ३.०८७ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यी चार वटै बैंकको सो प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । त्यसपछि मात्रै सेयरधनीले लाभांश पाउनेछन् । राष्ट्र बैंक स्रोतका अनुसार यी चार वटै बैंकको लाभांश बुधबार भित्रै स्वीकृत हुनेछ ।
प्रतिक्रिया