धुलोका कारण सुनसान छन् राजमार्ग छेउका होटल

धुलोका कारण सुनसान छन् राजमार्ग छेउका होटल


तनहुँ- पृथ्वी राजमार्ग विस्तारसँगै धुलोका कारण सो राजमार्गमा दैनिक गुड्ने बसका यात्रुको खाजा र खाना खाने गन्तव्य बदलिएको छ। धुलोका कारण राजमार्ग छेउछाउका होटल सुनसान बनेका छन्। पृथ्वी राजमार्गको पोखरादेखि नौविसेसम्मको एक सय ७२ किलोमिटर सडक खण्डमध्ये तनहुँको ७२ किलोमिटर सडक विस्तारको काम भइरहेको छ। यात्रुले खाजा र खाना नखाँदा व्यवसाय धान्न गाह्रो भएको होटल व्यवसायी बताउँछन्।

उनीहरु डेढ वर्षदेखि राजमार्गको धुलोले सास्ती खेप्दै आएका छन्। ‘सडक विस्तार अघि खाजा र खाना खान आउने यात्रुको चाप थेगी सक्नु हुन्थेन व्यास नगरपालिका–१ नयाँ पुलस्थित होटल सिंहका सञ्चालक भिमसिंह ठकुरीले भने, ‘अहिले होटलमा यात्रु फाट्टफुट्ट आउने गरेका छन्। यात्रु खाना खान नआउँदा होटल अन्यत्र सञ्चालन गर्नुपर्छ की भन्ने सोचमा छु।’ सडक विस्तार अघि दैनिक १० हजार रुपैयाँभन्दा बढीको व्यापार हुने गरेको सिंहले बताए। ‘हाल दैनिक १ हजार रुपैयाँको व्यापार पनि हुँदैन’, उनले भने।

यस्तै, आँबुखैरेनी गाउँपालिका–१ एक्लेफाँटस्थित पृथ्वी राजमार्ग छेउमा होटल सञ्चालन गर्दै आएका दिवस अधिकारीको दैनिकीसमेत सिंहको भन्दा कम छैन। राजमार्ग विस्तार अघिको व्यापार पछिल्लो समय ह्वात्तै घटेकाे उनको भनाइ छ। ‘पहिला ग्राहकको चापले पकाउन र खुवाउन भ्याइनभ्याई हुन्थ्यो’, उनले भने। धुलोले आहत भएपछि ग्राहक नआउँदा होटल बन्द गर्ने अवस्था आएको अधिकारी बताउँछन्।’ उनले व्यापार घटेपछि कर्मचारीसमेत कटौती गरिएको बताए। आँबुखैरेनी–१ एक्लेफाँटस्थित ओपनहार्ट रेष्टुरेण्टका सञ्चालक सुशील बानियाँले राजमार्ग विस्तारको प्रभाव राजमार्ग छेउछाउका होटलमा प्रत्यक्ष रुपमा परेको बताए। ‘राजमार्ग विस्तारबाट यहाँका होटलमा प्रत्यक्ष असर परेको छ’ उनले भने,‘राजमार्ग विस्तारपछि पहिलाको जस्तै व्यापार बढ्ने आशमा बसेका छौँ।’

तनहुँको आँबुखैरेनी, एक्लेफाँट, याम्पा, नयाँ पुल, विमलनगर, डुम्रे, दमौली, थर्पु, जामुने, खैरेनीटार, बेलचौतारा, दुलेगौंडा, कोत्रेलगायत क्षेत्रमा राजमार्ग छेउछाउमा साना ठूला गरी करिब ७५० होटल सञ्चालनमा छन्। क्षेत्रीय होटल संघ तनहुँका अध्यक्ष राम जोशीका अनुसार संघमा आबद्ध तनहुँका ८ सय होटलमध्ये भिमाद गाउँपालिका बाहेकको करिब ५५० होटल राजमार्ग क्षेत्रमा पर्छन्। त्यसैगरी संघमा आबद्ध तनहुँका पाँच सय होटलमध्ये करिब २ सय होटल राजमार्ग क्षेत्रमा पर्ने उनले बताए।

बन्दिपुर–१ डुम्रेस्थित मुस्ताङ होटलका सञ्चालक समेत रहेका अध्यक्ष जोशीले राजमार्ग विस्तारको क्रममा धुलोले गर्दा आफ्नो होटलमा आउने ग्राहकको संख्या करिब ९० प्रतिशतले घटेको बताए। राजमार्ग क्षेत्रको होटलमा यात्रु नहुँदा अधिकांश होटल व्यवसायीले वित्तीय संस्थाको किस्तासमेत तिर्न नसकेकाले संघले केन्द्रियस्तरबाटै ब्याजको व्यवस्था गर्न पटकपटक आग्रह गर्दै आएको उनको भनाइ छ। धुलो नियन्त्रणका लागि राजमार्गमा नियमितरुपमा पानी हाल्ने गरेको मुग्लिन पोखरा सडक आयोजना कार्यालयका पश्चिम खण्डका ईन्जिनियर नारायण पौडेलले जानकारी दिए। मुग्लिन पोखरा सडक आयोजनाको पूर्वीखण्ड आँबुखैरेनीदेखि जामुनेसम्म ४१ किलोमिटर सडकको ठेक्का चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले ६ अर्ब २१ करोडमा लिएको छ। सो कम्पनीले २०७८ वैशाख २ गतेदेखि काम सुरु गरेको हो।

हाल यस खण्डमा ५३ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको मुग्लिन पोखरा सडक आयोजनाका पूर्वीखण्ड प्रमुख श्याम यादवले बताए। त्यसैगरी जामुनेदेखि पोखरा सडक खण्डको ३८ किलोमिटर सडक विस्तार चिनियाँ कम्पनी एनहुई केयुनन हाइवे एण्ड ब्रिजले पाएको छ। कम्पनीसँग २०७८ जेठमा पश्चिम खण्ड विस्तार गर्न ७ अर्ब ४० करोडमा ठेक्का सम्झौता भएको र हालसम्म यसको २० प्रतिशत काम भएको सो आयोजनाका पश्चिम खण्डका ईन्जिनियर नारायण पौडेलले जानकारी दिए। रासस