काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर ओरालो लागे पनि नेपाली उपभोक्ताले त्यसको तुलनात्मक लाभ लिन पाएका छैनन् । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो तीन महिनामा सुनको मूल्य प्रतिऔंस ३३ प्रतिशतले घटेको छ । दुई महिना लामो समयसम्म चलेको इरान र अमेरिकाबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठुलो गिरावट आएको हो । अन्तर्राष्ट्रिय बजारमा हाल (जुन २२) सुन प्रतिऔँस ४ हजार १९६.८ डलरमा झरेको छ । ६ महिना अगाडि अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ५ हजार ५८९ डलरको उच्च बिन्दुमा पुगेको थियो । तर, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठुलो गिरावट आए पनि नेपाली बजारमा उपभोक्ताले तुलनात्मक लाभ लिन भने पाएका छैनन् ।
नेपाली बजारमा मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ छ। जबकि अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ५ हजार ३२७ डलरसम्म पुग्दा नेपाली बजारमा मूल्य ३ लाख ३९ हजार रुपैयाँको उच्च बिन्दुमा पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य झन्डै ३३ प्रतिशतले घट्दा नेपाली बजारको तथ्यांक हेर्ने हो भने कुनै समय ३ लाख १८ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य असार ४ गतेसम्ममा २ लाख ८६ हजार ७ सय रुपैयाँमा झरेको छ । यो गिरावट १० प्रतिशत मात्रै हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार नेपाली बजारमा सुनको मूल्य घट्न नसक्नुको प्रमुख कारण सरकारको चर्को कर नीतिलाई ठानेका छन् । ‘यो सरकारले सुनमा लाग्ने कर बढाउनै नहुने काम गर्यो,’ उनले भने । उनका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा सुन बिक्रीको ठुलो दबाब आएको छ र यो दबाब नेपालको आन्तरिक बजारमा समेत छ ।
उनले भने, ’हामीले यदि अहिले सुन बिक्री गर्नुपर्यो भने कम्तीमा १० प्रतिशतभन्दा कम मूल्यमा बिक्री गर्नुपर्ने हुन्छ । महासंघले ३÷४ प्रतिशतको कुरा लेखिरहेको छ तर त्यो सिलबन्दी भएको छैन । अहिले सुनको माग शून्य स्थितिमा छ, यो समयमा सुनको भाउ बढाउनुपर्ने बेला होइन। नेपालको आफ्नै मार्केटले समेत अध्ययन गर्न सक्ने अवस्था नभएकाले सुनको भाउ घट्नुपर्ने हो । तर महासंघसँग बजारको वास्तविक अध्ययन र दूरदर्शी विचार गर्ने क्षमताको कमीले गर्दा समेत सुनको मूल्य घट्न नसकेको हो ।’
उनका अनुसार अमेरिकी डलर बलियो बन्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको हो । त्यस्तै, भारत सरकारले सुन किन्न रोकेका कारणले पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य ओरालो लागेको उनले बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा सुनको माग ४५ सय टनको हाराहारीमा थियो । अन्तर्राष्ट्रिय सुन बजारमा भारत र चीनको मुख्य हिस्सेदारी छ । यदि भारतले त्यो सुन आयात गरेन भने त्यसले ग्लोबल निर्यातमा असर पर्छ, जसले गर्दा अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटिरहेको छ र अझै घट्ने सम्भावना देखिन्छ ।’
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत सुनमा लाग्ने कर दोब्बरले बढाएपछि अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपाली बजारमा सुनको मूल्य घट्न नसकेको हो । पछिल्लो वार्षिक बजेटमार्फत अर्थ मन्त्रालयले सुन आयातमा लाग्ने भन्सार महसुललाई १० प्रतिशतबाट सीधा २० प्रतिशत पु¥याएपछि चर्को करका कारण नेपाली बजारमा सुनको मूल्य घट्न सकेन। अर्थमन्त्री वाग्लेले घोषणा गरेको बजेटमार्फत सुनमा लाग्ने २ प्रतिशत विलासिता कर हटाएर भन्सार कर भने दोब्बर बनाएका थिए ।
अर्कातर्फ, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटे पनि डलरको मूल्य हरेक दिनजसो बढिरहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार हाल डलरको खरिद भाउ १ अमेरिकी डलर बराबर १५० रुपैयाँ ६२ पैसा पुगेको छ। नेपाली सुन व्यवसायीले सुन आयात गर्दा भुक्तानी डलरमा गर्नुपर्ने भएकाले डलर महँगो हुँदा नेपालमा सुनको मूल्य घट्न नसकेको व्यवसायीहरूको भनाइ छ ।
भारत सरकारले सुन आयातमा लाग्ने भन्सार महसुललाई ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पु¥याएसँगै नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले समेत भारतीय बजारको हाराहारी बनाउन नेपालमा लाग्ने भन्सार महसुल १० प्रतिशतबाट २० प्रतिशत पु¥याएका हुन् । नेपालमा भारतको तुलनामा सुन सस्तो हुँदा नेपालबाट भारततर्फ सुन तस्करी बढ्ने डरले व्यवसायीहरू आफैँले कर वृद्धिका लागि माग गरेका थिए । व्यवसायीकै मागका आधारमा सरकारले बजेटमार्फत कर वृद्धि गरेको हो । यसको प्रभावस्वरूप जेठ १७ गते नेपाली बजारमा प्रतितोला सुनको मूल्य एकैपटक २० हजार ५ सय रुपैयाँले बढेको थियो ।






About Us
प्रतिक्रिया