विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष होः मुख्यमन्त्री कार्की


विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको सुन्दर पक्ष रहेको बताएका छन्। नेपाल पत्रकार महासंघ कोशी प्रदेशद्वारा आज यहाँ आयोजित ‘कोशी मिडिया सम्मेलन’ को उद्धाटन गर्दै उनले लोकतन्त्रलाई बलियो बनाउन र नागरिक अधिकार स्थापित गर्न सञ्चारकर्मीहरुले सत्य र तथ्यको आधारमा सशक्त रुपमा अघि बढ्नु पर्ने धारणा राखे।

उनले आगामी साउन १ गतेदेखि कोशी प्रदेश सरकारले सबैलाई विज्ञापनको हक र अधिकार दिने भन्दै प्रेस क्षेत्रलाई उपेक्षा गरेर नागरिक स्वतन्त्रता स्थापित हुन नसक्ने कुरामा जोड दिए। उनले लोकतन्त्र मुलुकको संस्कृति भइसकेकाले यसलाई कसैले पनि सखाप पार्न नसक्ने जिकिर गर्दै जनताको भाव र विद्रोहबाट स्थापित लोकतन्त्रमा प्रेस जगत मर्यादित हुनुपर्ने बताए। मुख्यमन्त्री कार्कीले आगामी साउनदेखि बजेट एवं कार्य विधिका साथ सञ्चार प्रतिष्ठान गठन हुने जानकारी दिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष विष्णु निष्ठुरी, डा.महेन्द्र विष्ट र शिव गाउँलेलाई सम्मान गरिएको थियो। महासङ्घका महासचिव रामप्रसाद दाहालले ‘पत्रकार आचार संहिता र मर्यादित पत्रकारिता’ तथा महासङ्घका कोशी प्रदेशका पूर्वअध्यक्ष मोहन काजीले ‘कोशी प्रदेशका पत्रकारहरुको अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।