बेथानचोकमा बेलीब्रिज निर्माणले आवागमनमा सहजता


काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-१ च्याम्राङबेँसीस्थित च्याम्राङबेँसी-झिङ्गे सडकखण्डमा पर्ने रतन खोलामा बेलीब्रिज निर्माण गरिएको छ। उक्त पुल निर्माणपछि छिमेकी जिल्ला ललितपुरको महाङ्काल गाउँपालिकालाई आवागमनमा सहजता भएको हो। बागमती प्रदेश सरकार र बेथानचोक गाउँपालिकाको लागत साझेदारीमा एक करोड ७० लाखमा उक्त पुल तयार भएको हो।

विशेषगरी वर्षात्मा रतन खोला हुँदै आवातजावत गर्न समस्या हुने गरेकामा पुल बनेसँगै सुकुमफेदी, च्याम्राङबेँसी, झिङ्गे र खानीखोला तथा महाङ्कालका नागरिकसमेत लाभान्वित भएका बेथानचोक-१ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता मधुसुदन तिमल्सिनाले जानकारी दिए। उनका अनुसार विसं २०८१ को असोजमा आएको बाढीपहिरोका कारण झिङ्गेसहित बस्तीमा जान थप समस्या भएपछि पुल निर्माणमा पहल गरिएको हो।

गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले उक्त पुल निर्माणले काभ्रेपलाञ्चोक र ललितपुरका नागरिकलाई ठूलो राहत पुगेको बताए। ‘गाउँपालिकाले सडक, पुल, खानेपानी, शिक्षा तथा स्वास्थ्यजस्ता आधारभूत क्षेत्रलाई प्राथमिकतामा राखी काम गरिरहेको छ’, उनले भने।

वडा नं १ झिङ्गेका गोपालकृष्ण सापकोटाले पुल निर्माणसँगै यातायात पहुँचमा सुधारसँगै कृषि उत्पादनको बजारीकरण तथा शिक्षा, स्वास्थ्य र अन्य सेवा प्राप्त गर्न नागरिकलाई सुविधा पुगेको बताए। उनले ठूला पुल निर्माण गर्न नसके बेलीब्रिज निर्माण गरी नागरिकलाई सुविधा दिन स्थानीय सरकारलाई सुझावसमेत दिए।