‘उच्च शिक्षामा विशिष्टताको प्रवर्ध्दन कार्यक्रम’का लागि विश्व बैंकले सहुलियतपूर्ण ऋण

‘उच्च शिक्षामा विशिष्टताको प्रवर्ध्दन कार्यक्रम’का लागि विश्व बैंकले सहुलियतपूर्ण ऋण

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रम’ का लागि ६ करोड अमेरिकी डलर अर्थात करिब ७ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ ।

विहीवार अर्थ मन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकको तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि कन्ट्री डाइरेक्टर फारिस हदाद–जेर्भोसले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

कार्यक्रमले नेपालको उच्च शिक्षामा सुधार गर्न, सिकाइमा सूचना प्रविधिको प्रयोग बढाउन, र पिछडिएका तथा जोखिममा रहेका विद्यार्थीहरूलाई शैक्षिक संस्थासम्मको पहुँच बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

हस्ताक्षर कार्यक्रममा अर्थ सचिव मरासिनीले युवाहरूलाई आफ्नो पूर्ण क्षमता हासिल गर्न सघाउनका लागि मानव पूँजीमा लगानी गर्नु नेपालको प्राथमिकता रहेको उल्लेख गर्दै यसबाट कोभिड–१९ महामारीका कारण शिक्षा प्राप्त गर्नबाट बञ्चित भएका विद्यार्थीहरू लाभान्वित हुने बताए ।

‘युवाहरूको क्षमता अभिवृद्धि तथा विकासमा लगानी गर्ने सरकारको विशेष प्राथमिकता हो’, सचिव मरासिनीले भने, ‘यो कार्यक्रमले मुलुकभर कोरोनाका कारण उच्च शिक्षा प्राप्त गर्नबाट बञ्चित भएकाहरूलाई पुनः शिक्षासँग जोडिनलाई मद्दत गर्नेछ ।’

विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिसले गुणस्तरीय उच्च शिक्षालाई पहुँच योग्य, समावेशी तथा श्रम बजारको आवश्यकतासँग सान्दर्भिक गराउन आवश्यक रहेको बताए । उनले यस कार्यक्रमबाट नेपालको पुनरुत्थानशिलतालाई सुदृढ बनाउन महत्वपूर्ण योगदान हुने बताए ।

उनले कोरोनाका कारण शिक्षा प्राप्त गर्नबाट बञ्चित भएकाहरूलाई पुनः जोड्न क्याम्पसहरूको नेटवर्कलाई सबैको पहुँचमा पुर्याउनु पर्नेमा जोड दिए ।

यसैगरी कार्यक्रमले बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादनका लागि नेपालका विभिन्न विश्वविद्यालयबाट छात्रवृत्ति प्रदान गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ । यस्तो छात्रवृत्ति विशेषगरी पिछडिएका र विभिन्न कारणले उच्च शिक्षा प्राप्त गर्नबाट बञ्चित हुने विद्यार्थीलाई प्रदान गरिने बताइएको छ ।