ग्लोबल मनी विक : भविष्यलाई सुरक्षित गर्न कसरी लगानी गर्ने ?

ग्लोबल मनी विक : भविष्यलाई सुरक्षित गर्न कसरी लगानी गर्ने ?


काठमाडौं– हामीलाई जीवनयापन गर्नको लागि निरन्तर पैसाको आवश्यकता पर्दछ। त्यसैले आफूसँग भएको पैसाबाट निरन्तर पैसा कमाउन सकिएन भने तपाइ/ हाम्राे पैसा खर्च हुँदै सकिँदै जान्छ। पैसा तपाईसँगै निष्क्रिय बस्यो भने पनि समयसँगै  पैसाको क्रय शक्ति घट्छ , हेर्दा हेर्दै तपाइ/हाम्राे समग्र सम्पत्तिको मूल्य घटन् जान्छ। त्यसैले आफ्नो सम्पत्तिको समय सापेक्ष मूल्य कायम गर्न र खर्च भएर सकिनबाट जोगाउन  हामीले यसलाई लगानी गर्नुपर्दछ। 

आउनुहोस् ग्लोबल मनि विकको यो शृङ्खलामा हामी लगानी भनेको के हो ? लगानी गर्दा के कुरामा ध्यान दिनुपर्छ र यसले कसरी हाम्रो पैसा र भविष्यलाई कसरी  सुरक्षित गर्दछ भन्ने बारेमा चर्चा गरौँ।

लगानी भनेको के हो ?

आफूसँग भएको स्रोत, साधन,  पैसा वा  समय  कुनै व्यवसायमा लगाएर त्यस बाट आफ्नो सम्पत्ति वृद्धि गर्ने  कार्यलाई लगानी भनिन्छ। हामीले लगानी, व्यवसायमा प्रत्यक्ष संलग्न भएर  वा संलग्न नभईकन पनि गर्न सकिन्छ।

जस्तो कि तपाई कुनै कलकारखाना, पसल, कृषि फर्म , होटेल वा सेवा प्रधान गर्ने  व्यवसाय खोलेर आफै सञ्चालन गर्न सक्नुहुन्छ वा अरूले सञ्चालन गरेका व्यवसायमा हिस्सेदारी (शेयर) मार्फत  पनि लगानी गर्न सक्नुहुन्छ। बिर्सनै नहुने कुरा के हो भने कुनै पनि लगानी जोखिममुक्त हुँदैनन् ।

त्यसैले जान्नुहोस् लगानी गर्दा ध्यान दिनुपर्ने  पर्ने ५ वटा कुरा के – के हुन ?

१.लगानीको लक्ष्य 

तपाईँको  लगानीको लक्ष्य के हो ? सम्पत्ति वृद्धि , बुढेसकालको लागि सम्पत्तिको जोहो , बच्चाको उच्च शिक्षा , घर वा  सवारी साधनको लागि चाहिने रकमको प्रबन्ध अघि लगानीको उद्देश्य स्पष्ट भएपछि यसले हामीलाई लगानीको रणनीति बनाउन सहज हुने गर्दछ।    

२. जोखिम बहन गर्न सक्ने तपाईँको क्षमता 

कुनै पनि लगानी जोखिम मुक्त हुँदैन, अझै उच्च प्रतिफल दिने लगानीहरू त  झनै जोखिम युक्त हुन सक्दछन्  त्यसैले तपाईँको जोखिम लिने क्षमता कति छ ? त्यसको राम्रो सँग निर्क्योल गर्नुहोस्।    

३. प्रतिफल आउने समयावधि 

लगानी विभिन्न प्रकृतिको हुन्छ, जस्तो कि कुनै लगानी छोटो अवधिको हुन्छ भने कुनै लामो अवधिको हुन्छ । त्यसैले आफूलाई  लगानीको साँवा र प्रतिफल कहिलेसम्म फिर्ता चाहिने हो सोही अनुरूपको लगानी योजना बनाउनु पर्दछ। 

४. क्षेत्र तथा विषयको  ज्ञान 

लगानी गर्नु पूर्व हामीले लगानी गर्न लागेको क्षेत्रको बारेमा ज्ञान हुन् आवश्यक पर्दछ। क्षेत्र तथा विषयको ज्ञान बिना गरिने लगानीको निर्णयले तपाईँको सम्पत्ति क्षति पुर्‍याउन सक्दछ। 

५. आवश्यक नगद मौज्दात 

हरेक लगानीमा प्रतिफलको अलावा उतिकै  जोखिम पनि रहेको हुन्छ । त्यसैले लगानी गरी सकेपछि तत्काल प्रतिफल नआउन सक्छ । अथवा लगानी नै डुब्न पनि सक्दछ । त्यस्तो परिस्थितिमा पनि आफ्नो जीवनयापनको लागि चाहिने खर्चको लागि पर्याप्त नगद मौज्दात राख्न आवश्यक हुन्छ।