बैंकहरु नाफामा मात्रै केन्द्रीत रहेको व्यवसायीको गुनासो, ब्याज र किस्ताका लागि मात्रै ताकेता नगर्न आग्रह

बैंकहरु नाफामा मात्रै केन्द्रीत रहेको व्यवसायीको गुनासो, ब्याज र किस्ताका लागि मात्रै ताकेता नगर्न आग्रह

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
झापा बिर्तामोडका व्यवसायीले ब्याज र किस्ताका लागि ताकेता नगर्न यहाँका बैंकलाई आग्रह गरेका छन् । कोरोना भाइरसका कारण व्यापार–व्यवसाय चौपट भएको भन्दै व्यवसायीले बैंकलाई ब्याज र किस्ताका लागि ताकेता नगरी लचकता अपनाउन आग्रह गरेका हुन् ।

बिर्तामोड उद्योग वाणिज्य सङ्घले बिहीबार आयोजना गरेको बैंकर्स क्लब बिर्तामोडसँगको छलफलमा सङ्घका अध्यक्ष प्रकाश शिवाकोटीले लामो समयदेखिको निषेधाज्ञाका कारण उद्योगी–व्यवसायी मारमा परेको बताए । “महामारीका बेला व्यवसायी मारमा परेका छन्”, उनले भने, “उनको समस्या बुझिदिनु पर्छ ।”

अर्का व्यवसायी जीवनकुमार खड्काले निषेधाज्ञा अवधिमा व्यापार–व्यवसाय ठप्प भएका व्यवसायीलाई पहिचान गरी ब्याज ताकेता नगरिदिन र सकेसम्म लचक हुन आग्रह गरे।

छलफलमा सिद्धार्थ बैंकका प्रदेश प्रमुख सुवास श्रेष्ठले हाल कारोबार भएका तथा सञ्चालनमा रहेका उद्योगी–व्यवसायीलाई मात्र ब्याजका लागि ताकेता गरिएको बताए । “व्यापार बन्द भएका व्यवसायीलाई ताकेता गरिएको छैन”, उनले भने, “जुन व्यवसाय चलेको छ, त्यहीअनुसार काम गरिरहेका छौँ ।”

छलफलमा एनआइसी एशिया बैंकका दशरथ पराजुली, सानिमा बैंकका अम्बिका खतिवडा, गुडविल फाइनान्सका सुमन पौडेल, मुक्तिनाथ विकास बैंकका हरि ओझालगायतका बैंक प्रतिनिधिले व्यापार र कारोबार नभएका व्यवसायीलाई ब्याज र किस्ताका लागि दबाब नदिइएको बताए ।