बाराका माछापालक किसानलाई मेगा बैंकले सहुलियत कर्जा प्रदान गर्ने

बाराका माछापालक किसानलाई मेगा बैंकले सहुलियत कर्जा प्रदान गर्ने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाका माछापालक किसानहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ। 

मेगा बैंक, ए एन्ड डी आक्वा बिजनेस प्राइभेट लिमिटेड र सुनगाभा माछा कृषि सहकारी संस्थाबीच माछापालक किसानहरुलाई अत्याधुनिक बैंकिङ सुविधा र सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको हो। सम्झौतापत्रमा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहको उपस्थितिमा मेगा बैंककी सीईओ अनुपमा खुञ्जेली, ए एन्ड डी आक्वाका अध्यक्ष अमरबहादुर थिङ र सुनगाभा माछा कृषि सहकारी संस्थाका अध्यक्ष शिवहरि आचार्यले हस्ताक्षर गरेका छन्। 

यो सम्झौताबाट बाराको कोल्हवी नगरपालिकामा रहेका माछापालक किसानहरु प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। ए एन्ड डी आक्वाले माछापालक किसानहरुलाई प्राविधिक सहयोग र अन्य सामग्री आपूर्ति गर्नेछ भने मेगा बैंकले सहुलियतपूर्ण कर्जा र अन्य आवश्यक कर्जाहरु सहज रुपमा उपलब्ध गराउनेछ। 

हलोदेखि हाइड्रोसम्म नारा बोकेको मेगा बैंकले माछापालक किसानहरुलाई सहुलियतपूर्ण कर्जाबाट प्रोत्साहन गरी माछामा नेपाललाई आत्मनिर्भर बनाउने उद्देश्यले यो सम्झौता गरिएको बैंकका अध्यक्ष शाहले बताए। मेगा बैंकले आगामी ५ वर्षका लागि तयार गरेको रणनीतिमा आयातलाई प्रतिस्थापन गर्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ। 

बैंककी सीईओ खुञ्जेलीले बैंकिङ पहुँचमा नरहेका मध्यमवर्गीय र न्यून आय भएका नेपालीहरु सदैव मेगा बैंकको प्राथमिकतामा रहेको बताइन्। बैंकले आमनागरिकहरुलाई स्थापनाकालदेखि नै प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले माछापालक किसानहरुलाई वित्तीय सहायता गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताइन्। 

यसैगरी ए एन्ड डी आक्वाका अध्यक्ष थिङ र सुनगाभा माछा कृषि सहकारी संस्थाका अध्यक्ष आचार्यले मेगा बैंकसँग सहकार्य गर्न पाउँदा आफूहरु हर्षित भएको बताए। 

यसैबीच आजमात्रै बैंकले बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ स्थित जीतपुरमा नयाँ शाखा विस्तार गरी सो शाखाबाट बैंकिङ कारोबारको शुभारम्भसमेत गरेको छ।