बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमइ बैंक लिमिटेड र तानसेन नगरपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउन समझदारी पत्रमा हस्ताक्षर भएको छ।
ग्लोबल आइएमइ बैंक तथा तानसेन नगरपालिकाको अगुवाइमा हेफर इन्टरनेशनल नेपाल एवम् ग्रामीण आर्थिक विकास संघसँगको समन्वयमा कृषि अनुदान कर्जा समझदारी भएको हो।
बैंकको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालयका उप–प्रमुख जोगलाल भुषाल र तानसेन शाखाका शाखा प्रबन्धक वीर बहादुर सारु तथा तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले तानसेन नगरपालिकाको विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बङ्गुरपालन, माछापालन तथा विभिन्न फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई नगरपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ।
त्यस्तै उद्यमशील कृषकहरुलाई तानसेन नगरपालिकाको समन्वयमा ग्रामीण आर्थिक विकास संघको सहजिकरणमा हेफर इन्टरनेशनल नेपालले तालिम तथा प्राविधिक सहयोग प्रदान गर्नेछ।
ग्लोबल आइएमई बैंकले ७६ जिल्लामा २७३ शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ।
प्रतिक्रिया