बैंकिङ्ग समाचार, काठमाडौं ।
सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरुले एक वर्षमा खुद नाफाबाट १.५८ प्रतिशत खर्च गरेका छन्।
नेपाल राष्ट्र बैंकको एक अध्ययनअनुसार आर्थिक वर्ष २०७६/७७ मा बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७५/७६ को खुद मुनाफाको १.५८ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गरेको पाइएको हो।
जुन राष्ट्र बैंकले तोकेको खूद मुनाफाको न्यूनतम १ प्रतिशतभन्दा माथि रहेको छ। बैंक तथा वित्तीय संस्थाको वर्ग अनुसार हेर्दा ‘क’ वर्गका वाणिज्य बैंकहरुले औसतमा १.५४ प्रतिशत, ‘ख’ वर्गका विकास बैंकहरुले १.५५ प्रतिशत, ‘ग’ वर्गका वित्त कम्पनीहरुले १.६६ प्रतिशत तथा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुले २.०१ प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गरेका छन्।
बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी अभ्यासहरुको यथार्थता केलाउने उद्देश्यले राष्ट्र बैंकले अध्ययन गरेको हो।
बैंक तथा वित्तीय संस्थाहरुमध्ये ८५ प्रतिशतको आफ्नो छुट्टै संस्थागत सामाजिक उत्तरदायित्व नीति रहेको तथा ५१ प्रतिशतले सो सम्बन्धी वार्षिक योजना बनाउने गरेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ।
अध्ययनअनुसार संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट भएको खर्च क्षेत्रगत तथा प्रदेशगतरुपमा सन्तुलित हुन नसकेको देखिन्छ।सामाजिक उत्तरदायित्व कोषको दुई तिहाईभन्दा बढी बागमति प्रदेशमा खर्च हुने गरेको छ।
प्रतिक्रिया