बैंकिङ्ग समाचार, काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले ऋण प्रवाहमा रहेको असमानता हटाउन पहल गरिने बताएका छन्।
राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिकोत्सवको अवसरमा मंगलबार ललितपुरमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताए। शर्माले भने ‘गाडी किन्ने कर्जामा थोरै ब्याज लाग्ने तर गरिबले लिने कर्जामा धेरै ब्याज लगाउने कार्य सच्याउनुपर्नेछ।’
उनले कर्जा प्रवाहमा व्याजदर घटाएर सहज बनाउन सहकारी बैंक, सहकारी संस्था तथा लघु वित्त संस्थाहरुलाई आग्रह गरे।
उनले उत्पादनमुखी अर्थतन्त्रको विकास गर्न सहकारी बैंकको साथै लघुवित्त क्षेत्रले जोड दिनुपर्ने बताए। ‘उत्पादनमुखी अर्थतन्त्रमा टेवा पुर्याउन लघुवित्तले उत्पादन क्षेत्रलाई जोड दिनुपर्छ’, उनले भने ‘त्यसका लागि सरकारले नीतिमा परिवर्तन गरी सहजीकरण गर्छ।’
उत्पादनमा जोड दिँदा त्यसले रोजगारी सिर्जना गर्ने भन्दै उनले सहकारी संस्थाहरूले नाफामा प्रतिस्पर्धा नगरी रोजगारी सिर्जना, गरिबी अन्त्य गर्ने तथा उत्पादन वृद्धिमा प्रतिस्पर्धा गर्नुपर्ने बताए।
प्रतिक्रिया