बैंकिङ्ग समाचार, काठमाडौं ।
विसं २०७७ जेठ मसान्तको तुलनामा २०७८ जेठ मसान्तसम्ममा अर्थात एक वर्ष अवधिमा ठूला कारोबारहरुको राफसाफका लागि नेपाल राष्ट्र बैंकले सञ्चालनमा ल्याएको रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस), कनेक्ट आईपीएस र मोबाइल बैंकिङ्ग मार्फत हुने डिजिटल भुक्तानी कारोबार बढेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एघार महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार २०७७ जेठको तुलनामा २०७८ जेठमा यस्तो कारोबार ४ गुणा बढीले बढेको हो ।
केन्द्रीय बैंकको तथ्याङ्क अनुसार २०७८ जेठमा आरटिजीएस, कनेक्ट आईपीएस र मोबाइल बैंकिङ्ग मार्फत कुल २१ खर्ब १२ अर्ब ४० करोड ६७ लाख रुपैयाँ बराबरको भुक्तानी (कारोबार) भएको छ । विसं २०७७ जेठमा १६ खर्ब ३८ अर्ब १० करोड ४० लाख भएको थियो । एक वर्ष अवधिमा यस्तो माध्यमबाट हुने कारोबार ४१२ प्रतिशतले बढेको हो ।
समीक्षा अवधिमा नेपाल क्लियरिङ्ग हाउसको इसीसी र आईपीएस तथा मोवाइल वालेट मार्फत हुने कारोबार भने घटेको छ । २०७७ जेठमा १० खर्ब ४४ अर्ब ९२ करोड ८० लाख रुपैयाँको कारोबार भएकोमा २०७८ मा १४६ प्रतिशतले घटेर ५ खर्ब ५३ अर्ब ४६ करोड २१ लाख रुपैयाँमा झरेको हो । एक वर्षमा ४ खर्ब ९१ करोड ४६ लाख रुपैयाँले कारोबार घटेको हो ।
गत वैशाखदेखि असारसम्म देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू भएसँगै बैंक तथा वित्तीय संस्थाका सबै शाखा सञ्चालनमा नआउँदा पनि यी शीर्षकबाट हुने डिजिटल भुक्तानी प्रणाली मार्फत हुने कारोबार रकममा कमी आएको नेपाल राष्ट्र बैंकल जनाएको छ ।
प्रतिक्रिया