बैंकिङ्ग समाचार काठमाडौं ।
बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्सलाई राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारकोे कार्यालयको स्वीकृति पश्चात प्राप्ति गरी शनिबारदेखि एकीकृत कारोबार शुभारम्भ गरेको छ।
सिटिजन्स बैंक र फाइनान्सका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु सहभागी भएको एक विशेष समारोह बीच बैंकका अध्यक्ष राजन सिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरे।
२०७८ साल असार २५ गतेसम्मको तथ्यांकको आधारमा अब बैंकको कुल निक्षेप करिव १ खर्ब ४१ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १ खर्ब २४ अर्ब रुपैयाँ हुनेछ। प्राप्ती पश्चात बैंकको कुल शाखा १८९ हुनेछ।
हाल सिटिजन्स बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा प्राप्तिपश्चात उक्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं २ मा २० वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात् उक्त प्रदेशमा २७ वटा शाखाहरु संचालनमा आएका छन्।
सहमति अनुसार, सिर्जना फाइनान्स लिमिटेडका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर पाउनेछन्। सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ती पछिको चुक्ता पूँजी १२ अर्ब ५७ करोड रुपैयाँ हुनेछ।
उक्त कार्यक्रममा बोल्दै सिटिजन्स बैंकका अध्यक्ष भण्डारीले यस प्राप्ति पश्चात बैंकको वित्तीय सूचकाङ्कहरु मानवश्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने बताए। मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई सहयोग पुग्ने विश्वास र यस किसिमको प्राप्तिले देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
प्रतिक्रिया