बैंकिङ्ग समाचार काठमाडौं ।
सिभिल बैंकले सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकसँगको तुलनामा सबैभन्दा बढि व्यवसाय बढाउन सफल भएको छ । चालु आर्थिक वर्षको जेठसम्मको तथ्यांकले अन्य बैंकसँगको निक्षेप संकलनको तुलनामा सिभिल बैंकको निक्षेप सबैभन्दा धेरै प्रतिशतले बढेको देखिएको हो ।
बैंकले जेठ २०७७ को तुलनामा जेठ २०७८ मा ४७.९ प्रतिशतले व्यवसाय बढाएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको जेठसम्मको वाणिज्य बैंकहरूको विवरणअनुसार निक्षेप संकलन आक्रामक बनाएर सबैभन्दा राम्रो व्यवसाय गर्नेमा सिभिल बैंक अगाडि देखिएको छ । विजनेश भोलुमका आधारमा र सबैभन्दा धेरै निक्षेप संकलनमा सिभिल बैंकको अवस्था राम्रो देखिएको हो ।
बैंकले जेठसम्मको एक वर्षमा २८ अर्ब ७९ करोड ५० लाख रुपियाँले निक्षेप बढाएको छ । यसको निक्षेप जेठ महिनामा ८८ अर्ब ९३ करोड ८० लाख रुपियाँ रहेको छ । यस्तो निक्षेप गत वर्ष जेठमा भने ६० अर्ब १४ करोड ३० लाख रुपियाँ मात्रै रहेको थियो ।
स्टाण्डर्ड चार्टर्ड बैंक र एसबीआईको यो विवरण भने ऋणात्मक
छ । निक्षेप घट्नेमा सबैभन्दा अगाडि स्टाण्डर्ड चार्टर्ड बैंक छ । यस बैंकको निक्षेप जेठसम्ममा ११ अर्ब २३ करोड २० लाख अर्थात ११.३ प्रतिशतले घटेको देखिएको छ । निक्षेप संकलनको हिसाबले यो बैंक सबैभन्दा पछाडि छ ।
स्टाण्डर्ड चार्टर्डले जेठ २०७८ मा जम्मा ८७ अर्ब ८८ करोड ५० लाख रुपियाँ मात्रै निक्षेप संकलन गरेको छ । यस्तो निक्षेप अघिल्लो वर्षको सोही अवधिमा ९९ अर्ब ११ करोड ७० लाख रुपियाँ रहेको थियो ।
यस्तै निक्षेप संकलन ऋणात्मक हुनेमा नेपाल एसआिई बैंक पनि अगाडि छ । यो बैंकको निक्षेप जेठमा एक खर्ब आठ अर्ब ७३ करोड १० लाख रुपियाँ रहेको छ । यस्तो निक्षेप अघिल्लो वर्षको तुलनामा एक अर्ब ६७ करोड ८० लाख रुपियाँले कम हो । गत वर्ष नेपाल एसबिआईको एक खर्ब १० अर्ब ४० करोड ९० लाख रुपियाँ निक्षेप रहेको थियो ।
सबैभन्दा धेरै व्यापार गर्नेमा एनआईसी एसिया
वाणिज्य बैंकहरूमा सबैभन्दा बढि व्यापार गर्नेमा एनआईसी एशिया बैंक रहेको छ । यो बैंकले गत वर्ष जेठको तुलनामा यो वर्षको जेठमा ४४.१ प्रतिशतले व्यवसाय बढाउन सफल भएको छ । निक्षेप गत वर्षको तुलनामा धेरै बढाउने र सबैभन्दा बढि निक्षेप परिचालन गर्ने बैंक पनि एनआईसी एशिया नै हो ।
एनआईसी एशियाको जेठसम्ममा तीन खर्ब तीन अर्ब ९० करोड ३० लाख रुपियाँ निक्षेप संकलन भएको छ । यस्तो निक्षेप अघिल्लो वर्षको सोही अवधिमा दुई खर्ब १० अर्ब ८४ करोड ३० लाख रुपियाँ रहेको पनि बैंकर्स संघको जेठ महिनासम्मको तथ्यांकमा उल्लेख छ ।
पाँच खर्बले निक्षेप संकलन बढ्यो
वाणिज्य बैंकहरूले जेठसम्मको एक वर्षमा पाँच खर्ब रुपियाँ अर्थात १४ प्रतिशतले कुल निक्षेप बढाएका छन् । संचालनमा रहेका वाणिज्य बैंकहरूले मात्रै जेठ २०७८ सम्ममा ३९ खर्ब ३९ अर्ब ८९ करोड २० लाख रुपियाँ निक्षेप संकलन गरेका छन् ।
यस्तो निक्षेप अघिल्लो वर्षको सोही अवधिको तुलनामा पाँच खर्ब तीन अर्ब ७९ करोड १० लाख रुपियाँले बढि संकलन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप ३४ खर्ब ४९ अर्ब एक करोड एक लाख रुपियाँ रहेको थियो । यस्तो निक्षेप जेठसम्ममा वाणिज्य बैंकहरूले १४.४३ प्रतिशतले बढाउन सफल भएका छन् ।
प्रतिक्रिया