बैंकका अधिकांश शाखा खुल्ला, असार ७ पछि पूर्ण सञ्चालनमा आउने

बैंकका अधिकांश शाखा खुल्ला, असार ७ पछि पूर्ण सञ्चालनमा आउने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं । 
असार १ गतेदेखि मापदण्ड पालमा गर्दै बैंक वित्तीय संस्थाहरु सञ्चालनमा आएका छन् । सबैजसो बैंक वित्तले आफ्ना अधिकांश शाखाहरु खुल्ला गरी सेवा सुचारु गरेका छन् । असार १ गतेदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा लकडाउनलाई केहि खुकुलो बनाइएको छ । जसका कारण बैंकिङ कारोबार र चहल पहल बढेको हो ।

असार १ अघि काठमाडौं उपत्यकामा बैंक तथा वित्तीय संस्थाहरुले केन्द्रीय कार्यालय बाहेक उपत्यका ३ जिल्ला ५ वटा शाखा र उपत्यका बाहिर स्थानीय प्रशासनको निर्देशन अनुसार शाखा सञ्चालन गरेका थिए । नेपाल राष्ट्र बैंकले यसअघिसम्म गरिएका निर्देशन खारेज गर्दै आवश्यकता अनुसार शाखा सञ्चालन गर्न पाउने व्यवस्था गरेको हो ।

बैंकिङ सेवामा मापदण्ड पालना गर्दैअधिकांश सेवा सञ्चालन आएको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता एवं सूचना अधिकारी नारायण प्रसाद पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्र बैंकले सबै बैंकहरुलाई नोटिस जारी गरेको छ । यसअगाडीका नोटिसहरु खारेज गर्दै आवश्यक मापदण्ड पालना गरेर, कमभन्दा कम कर्मचारी राखेर सेवा दिन आग्रह गरेका छौं ।’

नेपाल राष्ट्र बैंकले गएको जेठ ३१ गते सूचना जारी गरेर नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवा ग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक सम्पूर्ण उपायहरु अवलम्बन गर्न बैंकहरुलई आग्रह गरिसकेको छ ।

बैंक तथा वित्तीय संस्थाले आफ्नो व्यवसायिक निरन्तरतालाई उच्च प्राथमिकतामा राखी कार्यालयमा उपस्थित नभई सम्पादन गर्न असम्भव हुने कामको लागि मात्र कार्यालयका कर्मचारी उपस्थित गराई बैंकिङ सेवा प्रदान व्यवस्था मिलाउनुपर्ने राष्ट्र बैंकले भनेको छ ।

कोभिड–१९ को संक्रमण जोखिम न्यूनीकरणको लागि निषेधात्रा जारी भएका स्थानहरुमा रहेका केन्द्रीय कार्यालयको हकमा एक तिहाई कर्मचारी तथा शाखा कार्यालयको हकमा सम्भव भएसम्म कम कर्मचारीको उपस्थितमा न्यूनतम शाखाबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाउनुपर्ने राष्ट्र बैंकले जनाएको छ । कर्मचारीको अनावश्यक उपस्थिति रोक्नको लागि सूचना प्रविधिको उच्चतम प्रयोग गरी वर्क फ्रम होम तथा रिमोट एसिसबाट कार्य सम्पादनलाई जोड दिनुपर्ने बताएको छ ।

ग्राहकको चापलाई समेत दृष्टिगत गरी शाखाहरु खोल्ने र यसरी शाखाहरु खोल्दा सकेसम्म न्यूनतम संख्यामा शाखाहरु सञ्चालनमा ल्याई बैंकल्पिक शाखा कार्यालयबाट आलोपालो गरी सेवा प्रदान गर्दा बन्द हुने शाखा कार्यालयको मूल ढोका, संस्थाको वेबसाइट तथा सामाजिक सञ्चाल समेतमा सेवा सम्बन्धी सोधपुछको लागि सम्पर्क व्यक्तिको सम्पर्क नम्बर, सेवा प्राप्त गर्न वैकल्पिक शाखा, शाखा खुल्ला रहने समयसम्बन्धी सूचना दैनिक रुपमा प्रकाशन गर्ने छ ।
संक्रमण जोखिमलाई ध्यान दिई सेवाग्राहीलाई सम्भव भएसम्म फेस टु फेस बैंकिङ सेवा भन्दा विद्युतीय माध्यमबाट सेवा प्रदानमा जोड दिन राष्ट्र बैंकले आग्रह गरेको छ ।

विभिन्न निकायबाट जारी भएका/हुने निषेधात्मक आदेशको पालनाका लागि स्थानीय निकायसँगको समन्वयमा शाखा सञ्चालन गरी बैंकिङ सेवा प्रदान गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

महामारीको हालको अवस्थामा सूचना प्रविधिको अत्याधिक प्रयोग गरी बैंक तथा वित्तीय संस्थाका अधिकांश कार्या विधुतीय माध्यमबाट सम्पादन गर्नुपर्ने भएकोले यसबाट उत्पन्न हुन सक्ने जोखिम तथा यसको दुरुपयोगप्रति समेत चनाखो रही आवश्यक जोखिम व्यवस्थापन गर्ने राष्ट्र बैंकले जनाएको छ । यस्तै बैंकबाट कोभिड–१९ को संक्रमण जोखिम न्यूनीकरण गरी सेवा सुचारु गर्ने सम्बन्धमा यसअघि जारी गरिएका निर्देशनहरु परिपालन गर्ने/गराउने व्यवस्था मिलाउन राष्ट्र बैंकले आग्रह गरेको छ ।

असार ७ पछि पूर्ण रुपमा सञ्चालनमा आउने

असार सात गतेपछि बैंकहरु पूर्ण रुपमा सञ्चालनमा आउने भएका छन् । निषेधाज्ञा खुुकुलो हुँदै गएकाले बैंक फुलफ्लेज्डमा चलाउन बैंकरबीच सहमति भएको हो । सरकारले पछिल्लो समय असार ७ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।

बैंकर्स संघमा बिहीबार भएको कार्यसमितिको बैठकमा सबै कारोबार खुला गर्ने सहमति बनेको हो । अहिले निषेधाज्ञा कारण शाखाहरु पनि आलोपालो छ  । बैंकको शाखा पनि २ बजेसम्म मात्र खुलिरहेको छ ।

अब भने मालपोत कार्यालय खुलेमा ऋणको काम पनि हुने छ । अब ५० हजारभन्दा कमको निक्षेप पनि स्वीकार गरिने भएको छ । यसअघि बैकमा भीडभाड बढेको भन्दै राष्ट्र बैंकको सहमतिमा ५० हजारभन्दा कमको निक्षेप नलिने बैंकर्स संघले निर्णय गरेको थियो ।

बर्षान्त नजिकिँदै गएका कारण पेन्डिङ कामहरु पनि सक्नु पर्ने भएकाले संभव भएसम्म सबै सेवा उपलब्ध गराउने सहमति बनेको हो ।