मनाङमा मर्स्याङ्दी नदीले दुई बैंकका शाखा बगायो, एक कर्मचारी सम्पर्कविहीन

मनाङमा मर्स्याङ्दी नदीले दुई बैंकका शाखा बगायो, एक कर्मचारी सम्पर्कविहीन

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,मनाङ। 
मनाङको नासों गाउँपालिका–३ धारापानीमा मर्स्याङ्दी नदीले दुई बैंकका कार्यालय बगाएको छ । नदीले प्राइम बैंक र प्रभु बैंकको कार्यालय, गाउँपालिकाको कार्यालय, प्रहरी चौकी र केही होटल बगाएको हो।

बुधबार दिउँसो नदीमा आएको बाढीले उक्त संरचना बगाएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । प्रहरीका अनुसार बैंकमा कार्यरत १ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । 

बाढी र पहिरोका कारण मनाङमा एउटा गाउँबाट अर्को गाउँमा जान सक्ने अवस्था नरहेको स्थानीयले जनाएका छन्। 

अहिले पनि निरन्तर पानी परिरहेकाले उद्धारमा समेत जान नसक्ने अवस्था आएको उनीहरूको भनाइ छ। मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले गृह मन्त्रालयले पठाउने भनेको हेलिकप्टर अहिलेसम्म आउन नसकेको जानकारी दिए। 

मौसममा सुधार नआएकाले हेलिकप्टर आउन नसकेको उनको भनाइ छ। जस्तोसुकै परिस्थितिमा पनि जनधनको क्षति हुन नदिन मनाङ प्रहरी लागि परेको उनले बताए। 

सदरमुकाम चामे र ताल गाउँ बाढीले डुबानमा परे पनि थप क्षति भएको छैन। मंगलबार चामेका ६ घर बाढीले बगाएको थियो भने ताल गाउँका ४८ घर मर्स्याङ्दी नदीको डुबानमा परेको छ।