बैकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका ग्राहकले ब्याज रकममा १० प्रतिशत छुट पाउने भएका छन् । संस्थाले २०७८ असार मसान्त भित्र बुझाउनु पर्ने सम्पुर्ण साँवा ब्याज बुझाउने ग्राहकलाई सो अवधिसम्म पाकेको ब्याजमा १० प्रतिशतका दरले हुन आउने रकम छुट दिने निर्णय गरेको हो ।
संस्थाले हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै आफ्ना ग्राहक सदस्यहरुलाई सो मात्राको छुट दिने निर्णय गरेको हो । साथै, सो अवधिसम्म ग्राहक सदस्यहरुबाट कुनै किसिमको हर्जाना तथा अतिरिक्त शुल्क नलिने संस्थाले जनाएको छ ।
हाल वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यहरुको कारोबारको सूचना मोबाइलमा आउने गरी एसएमएस सुविधा संचालनमा ल्याएको छ । त्यस्तै, कोभिडको महामारीमा ग्राहक सदस्यहरुलाई किस्ता बचत तिर्न सजिलो होस भन्ने अभिप्रायले ईसेवासँग सहकार्य गरी किस्ता भुक्तानी गर्ने व्यवस्था मिलाएको संस्थाले जानकारी गराएको छ ।
प्रतिक्रिया