सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।
सिटिजन्स बैंक इन्टरनेसनलले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । बिहीबार सम्पन्न बैंकको सातौं विशेष साधारणसभाले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले सिर्जना फाइनान्स र सिटिजन्स बैंकबीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ । दुवै कम्पनीको विशेष साधारण सभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंकलाई सिर्जना फाइनान्स लिमिटेड प्राप्ति गर्नका लागि बाटो खुलेको हो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका अध्यक्ष राजन सिंह भण्डारीका अनुसार यसै आर्थिक वर्षभित्र सिर्जना फाइनान्स लिमिटेडसँगको प्राप्ति प्रकृया पूरा गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको छ ।

२०७८ साल जेठ २६ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्सले सिर्जना फाइनान्सलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करीब १ खर्ब ३८ अर्ब रुपैयाँ हुनेछ । सर्वसाधारणलाई दिएको ऋण लगानी करीब १ खर्ब २२ अर्ब रुपैयाँ हुनेछ । प्राप्ति पश्चात बैंकको कुल शाखा १८९ हुनेछ ।

हाल यस बैंकको प्रदेश नं १ मा १३ ओटा शाखा रहेकोमा सिर्जना फाइनान्स लिमिटेडको प्राप्ति पश्चात् उत्त प्रदेशमा बैंकको जम्मा २७ ओटा शाखाहरु र प्रदेश नं २ मा २० वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात् उक्त प्रदेशमा २७ ओटा शाखाहरु हुनेछन् ।

सहमति अनुसार, सिर्जना फाइनान्स लिमिटेडका सेयरधनीले १०० कित्ता सेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता सेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्तापूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ति पश्चात १२ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ ।

बैंकको सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डेको नेतृत्वमा बैंकले सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेण्ट बैंक र सिर्जना फाइनान्सको प्राप्ति अगाडि बढाएको हो । बैंकले सातओटै प्रदेशमा आफ्नो सक्रिय उपस्थिति बनाउँदै लगेको छ । यस प्राप्ति पछि बैंकको ग्राहक संख्या करीब १२ लाख पुग्नेछ ।