सहकारी

सहकारी पीडित भन्छन् : आन्दोलन नै अन्तिम विकल्प हो

सहकारी पीडित भन्छन् : आन्दोलन नै अन्तिम विकल्प हो


काठमाडौं–विगत लामो समयदेखि सहकारी संस्थाहरुले बचतकर्ताको बचत फिर्ता गरेका छैनन् । कतिपय सहकारीको सञ्चालक फरार भएका छन् भने कतिपय सहकारीले लगानी गरेको क्षेत्र संकटमा परेको कारण बचतकर्ताको बचत फिर्ता हुन नसकेको हो । सहकारीका बचतकर्ताले आफ्नो बचत फिर्ता पाउनुपर्ने माग गर्दै एक वर्ष अघिदेखि लगातार रुपमा आन्दोलनमा होमिए । यसै क्रममा भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले सहकारी पिडीतहरुसँग गत साउन १८ मा सडकमै आएर ७ बुँदे सहमति गरिन् । तर त्यो सात बुँदे सहमति हालसम्म कार्यान्वयन भने भएन ।

भिडियो

सरकारले गरेको सहमति कार्यन्वयन नभएपछि पिडीतहरु पुनः सहकारी विभागमा शान्तिपूर्ण धर्नामा आएको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलभ केसी बताउँछन् । उनका अनुसार उनीहरुले बचत तथा कर्जा सुरक्षण कोष स्थापना हुनुपर्ने, ५० करोडभन्दा धेरै कारोबार गर्ने सहकारीको नियमन नेपाल राष्ट्र बैंकबाट हुनुपर्ने, सहकारी दर्ता, कार्यक्षेत्र तथा सेवा केन्द्र विस्तारमा एक वर्षसम्म रोक लगाउनुपर्ने लगायतका माग राखेका छन् ।

एनले आन्दोलन नै अन्तिम विकल्प रहेको पनि उल्लेख गरेका छन्। उनले जनता सडकमा आए भने मात्रै पनि राज्यनै कायापलट हुने बताए । उनले आफ्नो प्राण पनि त्याग्न तयार रहेको भन्दै आफूहरुलाई कसैले पनि ठग्न नपाउँने बताए । ‘अब हामी जागिसकेका छौं । हामीले बचत गरेको पैसा लुट्न पाईदैन ।’ उनी भन्छन्, ‘ जनतालाई सरकारले जति लाटो सोचेको छ त्यति लाटो छैनन् ।’

सरकार नै असफल
सानो किराना पसल सञ्चालन गरेर बसेका चेतराज बज्रचार्य आफुलाई कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटको अपरेटिभले ठगेको बताउँछन् । उनको हाल उक्त सहकारीमा १८ लाख बचत संकलन छ । उनले किराना पसल सञ्चालन गरेको पनि ४० वर्ष पुरा भइसकेको छ । उनले सुरुदेखि १००÷१५० गरेर जम्मा यतिका पैसा सहकारीमा राखे । सहकारी संस्थालाई सहकारी विभागले लाइसेन्स दिएको कारण नै सहकारी संस्थालाई विश्वास गरेको बताउँछन् । ‘सरकारले नै लाइसेन्स दिएपछि हामीले विश्वास नगर्ने भन्ने त कुरा आउँदैन नि । उनी आफ्नो औषधी उपचारको लागि सहकारीमा बचत राखेको बताउँछन् । उनले सरकारले आश्वासन मात्रै दिएको बताए । उनले सरकार नै असफल हुँदा समस्या सिर्जना भएको बताए ।

‘सरकारले चाहने हो भने १५ दिनमा समस्या समाधान हुन्छ’
त्यस्तै, सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका उपाध्यक्ष एवम् प्रवक्ता पुरुस्वतम कार्की सरहकारले सहकारी पीडितको समस्या समाधान गर्न चाहने हो भने १५ दिनमा समाधान हुँने बताए । उनले सीडियोलाई अधिकार दिएर मिटरब्याजको समस्या समाधान भएको भन्दै सहकारीको समस्या समाधान पनि सीडियो र सहकारी विभागलाई अधिकार दिनुपर्ने बताए ।

‘बिरामी हुँदा पनि बचत फिर्ता नहुँदा मरे सरह भयो’

सध्या बचत तथा ऋण सहरकारी संस्थाले बचत फिर्ता नदिएपछि कृति बस्नेत संकटमा परेकी छिन् । उनी एकल महिला हुन् । उनको साथमा एउटा छोरो पनि छन । बस्नेतले एक किराना पसल सञ्चालन गर्दै आएकी थिइन् । त्यहिँ समयमा उनी सहकारीसँग जोडिइन् । उनले आफूलाई दुःखमा काम लाग्छ भनेर राखेको पैसा बिरामी हुँदा पनि पाउन सकेकी छैनन । अहिले उनलाई ब्रेन ट्युमर नामक रोग लागेको छ । उनी भन्छिन, ‘मलाई माघमा पैसा चाहिएको थियो । म सहकारीको अफिस पुगे त्यतिबेला मलाई चेक दिनुभयो । तर चेक दिएको ३ दिनपछि सहकारीका सञ्चालक भाग्नुभयो ।’ उनी आफू बिरामी हुँदा बचत गरेको रकम फिर्ता नहुँदा मरेतुल्य हुने बताउँछिन् । उनले केही समस्या आईपर्दा सहयोग हुने भएर नै नेताहरुलाई चुनेको भएपनि समस्यामा केही पहल नगरेको बताइन् ।

‘बचतकर्ताको रकम फिर्ता गर्नका लागि विभागले पहल गरिरहेको छ’

सहकारी पीडितसँग सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले मागको सम्बोधनका लागि धर्नामा भन्दा पनि वार्तामा बस्न अनुरोध गरिरहेको बताए । सहकारी पीडितसँग घिमिरेले सानो छलफल गरिसकेका छन् तर निष्कर्ष भने निस्केको छैन । उनले भने, ‘बचतकर्ताहरुको रकम फिर्ता गर्नका लागि विभागले पहल गरिरहेको छ ।’ बचतकर्ता तथा कर्जा सुरक्षण कोषको स्थापना,ऋण असुली म्यादीकरण, सरकारले दिएको प्रतिवेदनको प्रभाकारी कार्यान्वयन लगायतको माग उहाँहरुले राख्नुभएको छ । उहाहरुको मागको साथै ऐन कानुनमा भएका व्यवस्थाहरु कार्यान्वयन गर्न मन्त्रालय र विभाग लागिरहेको छ ।’

उनले आफूहरुले सुपरिवेक्षण नियमन गर्नका लागि एउटा स्वतन्त्र, स्वायत्त प्रभावकारी निकायको स्थापना गर्ने सन्दर्भमा पनि काम गरिरहेको बताए । उनले पीडित बचतकर्ताहरुलाई धर्ना कार्यक्रम स्थगित गर्न आग्रह गर्दै, पीडितहरुको जायज माग, समस्या, पीडाहरुलाई बुँझेर सम्बोधन गर्नतर्फ लागिरहेको बताए । तर पीडित बचतकर्ताहरुले ठोस निर्णय नआउँदा समेत धर्ना जारी राख्ने भनेकाले धर्ना स्थगित कहिलेबाट हुने भन्ने टुंगो नलागेको उनले जानकारी दिए ।

रजिष्ट्रार घिमिरेले शहर केन्द्रित, केही ठूला बचत तथा ऋण सहकारी संस्थामा समस्या देखिएको बताए । उनले यो समयमा बचतकर्ताहरुको बचत सहकारीले र्फिता गर्न नसकेको बताए । उनले सहकारीमा समस्या आउनुको कारण तरलता अभाव, ऋण असुली नभएको उल्लेख गरे । उनले भने, ‘कतिपयले बचतकर्ताहरुको बचत रकमको सही सदुपयोग र परिचालन नगरेर व्यक्तिगत हित र स्वार्थका लागि प्रयोग गर्नाले लगानी भएको ऋण असुलीमा उदासीनता देखाएका कारणले सहकारीको सिद्दान्त मूल्यमान्यताबाट बिचलित हुनु, सहकारी ऐन, नियम लगायतका कानुनको परिपालनमा नगर्नाले यस्ता समस्या देखिएको हुनसक्छ ।’ पीडितहरुले सहकारीको समस्या गर्न नसक्ने हो भने रजिष्ट्रारले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् भने रजिष्ट्रार बचत गरेको रकम फिर्ता नपाउँदा सम्बन्धित निकायहरुमा व्यक्त गरेको आक्रोश भएको बताए । उनले यस्तो समस्यामा पर्दा आक्रोश पोख्नु स्वभाविक भएको बताए । उनले तत्काल बचत फिर्ताको लागि बचतकर्ताहरुलाई चैत्र मसान्तसम्म बचत फिर्ता निर्देशपनि जारी गरेको बताए ।