बैकिङ्ग समाचार ।
आर्थिक वर्षको चौँथो त्रैमासको जेठ महिनाको मध्य तिर आइपुग्दा बैंकहरुमा कर्जा प्रवाहको तुलनामा निक्षेपको मात्रा बढ्न थालेको छ। अघिल्लो साता निक्षेप घटेको र कर्जा लगानीमा वृद्धि देखिए पनि दोस्रो महिनाको मध्यसम्म आइपुग्दा निक्षेप ह्वात्तै बढेको हो ।
बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघकाअनुसार पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्बले बढ्दा कर्जा लगानी भने ८ अर्बले मात्र बढेको छ । यो तथ्यांकले पछिल्लो समय बैंकहरुमा कर्जाको मागसंगै र निक्षेपको मात्रा पनि बढ्दै गएको देखाउँछ।
निषेधाज्ञाको समयमा मालपोत कार्यलय बन्द हुने भएकाले यो समय बैंक वित्तीय सँस्थाहरुको कर्जा लगानीमा धेरै सुस्तता आएको छ। यो एक साता लगानी भएको कर्जा पनि ओभरड्राफ्ट, अटो, सेयर तथा मार्जिन प्रकृतिको क्षेत्रमा भएको लगानीका कारण कर्जा लगानी भएको देखिएको हो। नेपालमा बैंक वित्तीय सँस्थाहरुले अधिकांश कर्जा जग्गा धितो राखेर मात्र प्रवाह गर्ने भएकाले पछिल्लो निषेधाज्ञाको समयमा मालपोत कार्यलय बन्द हुँदा कर्जा प्रवाह हुन नसकेको बैंकरहरु बताउँछन्।
जेठको १४ गतेसम्म वाणिज्य बैंकहरुले ३९ खर्ब ५६ अर्ब निक्षेप संकलन गरी ३६ खर्ब २६ अर्ब कर्जा प्रवाह गरेकोमा जेठ २१ गतेसम्म आइपुग्दा बैंकहरुले ३९ खर्ब ६९ अर्ब निक्षेप संकलन गरी ३६ खर्ब ३४ अर्ब कर्जा प्रवाह गरेका छन् । त्यस्तै एक साताको अन्तर अर्थात् जेठ १४ देखि २१ गतेसम्म बैंकहरुले १३ अर्ब निक्षेप संकलन गरी ८ अर्ब कर्जा लगानी गरेका छन्।
प्रतिक्रिया