बैकिङ्ग समाचार ।
सामाजिक सुरक्षा कोषले आबद्ध हुन बैंक तथा वित्तीय संस्थालाई पत्राचार गरेपछि कर्मचारीहरुले आन्दोलनको चेतावनी दिएका छन । कोषले मंगलबार सबै बैंक तथा वित्तीय संस्थालाई पत्राचार गरी आगामी आर्थिक वर्षको बजेटमा भएको व्यवस्था र कानुनअनुसार कोषमा सहभागी हुन अनुरोध गरेको छ ।
कोषले सहभागी हुन पत्राचार गरेपछि नेपाली काँग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघले सोको विरुद्धमा विज्ञप्ति जारी गरी एकलौटी ढंगले कोष अघि बढे सम्पूर्ण प्रतिष्ठानका कर्मचारीहरु संघको अगुवाइमा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
संघका अध्यक्ष पदमराज जोशीले उत्पन्न परिस्थितीको जिम्मेबार कोष हुनुपर्ने भन्दै ध्यानकषर्ण गराएका छन । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुले खाइपाइ आएको तलव सुविधा नघट्ने गरी सहभागी गराउन पटकपटक ध्यानकर्षण गराउँदा पनि कोषले बेवस्ता गरेको आरोप अध्यक्ष जोशीको छ ।
संघको पहलमा सुरक्षा कोष र सरोकारवालाहरुसंग छलफल गरी योजनामा बञ्चित श्रमिकहरुलाई समेटेर अघि बढ्न र मौजुदा व्यवस्थाअनुसार खाइपाइ आएको सुविधा नघट्ने गरी व्यवस्था मिलाउन गरेको सुझावलाई कार्यान्वयन नगरेको आरोप संघले लगाएको छ ।
वित्तीय संस्थाका कर्मचारीहरुले खाइपाइ आएको सेवा र सुविधाहरु कटौती हुने गरी जबरजस्ती सामाजिक सुरक्षा योजनामा सहभागी गराउने अनुचित दबाब आएको दावी संघले गरेको छ ।
प्रतिक्रिया