स्याङ्जामा पर्यटन पूर्वाधारका ४५ योजना सञ्चालनमा

स्याङ्जामा पर्यटन पूर्वाधारका ४५ योजना सञ्चालनमा


स्याङ्जा – स्याङ्जामा चालु आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी ४५ योजना सञ्चालनमा रहेका छन् । गण्डकी प्रदेश सरकारले स्याङ्जाका ४५ योजना निर्माणका लागि बजेट विनियोजन गरेसँगै पर्यटन पूर्वाधार निर्माण थालिएको हो ।

जिल्लाका ११ वटै पालिकामा न्यूनतम पाँच लाखदेखि अधिकतम २० लाखसम्म बजेट विनियोजन भएको पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए । यहाँका धार्मिक, ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक महत्वका स्थानमा बाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्न पूर्वाधार निर्माण अगाडि बढाइएको उनले बताए ।

‘प्रदेशबाट छनोट भएका योजनाको सम्झौता गर्ने, लागत योजना तयार गर्नेलगायत काम भइरहेको छ ’ प्रमुख ढकालले भने, ‘केही योजना सम्पन्न भइसकेका छन् भने अधिकांश योजना अहिले धमाधम निर्माण काम भइरहेका छन् । ’ पर्यटकीय सम्भावना बोकेका स्थलमा पर्यटकको आवागमनलाई सहज बनाउने उद्देश्यसहित पदमार्ग र भौतिक संरचना निर्माण भइरहेको उनले जानकारी दिए ।

स्याङ्जामा चालु आवमा योजना कार्यान्वयनका लागि दुई करोड ७५ लाख बजेट विनियोजन भएको थियो । २० लाख र १५ लाखको एक/ एक, १० लाख लागतका पाँच र पाँच लाख लागतका ३८ वटा योजना कार्यान्वयनमा रहेका छन् । सबैभन्दा धेरै योजना १० वटा योजना पुतलीबजार नगरपालिकामा कार्यान्वयनमा रहेका कार्यालयका योजना शाखा प्रमुख कृष्ण लम्सालले बताए ।

उनका अनुसार वालिङ नगरपालिकामा नौ, भिरकोटमा छ, बिरुवा गाउँपालिकामा पाँच, फेदीखोलामा चार, चापाकोट र गल्याङ नगरपालिका तथा आँधीखोला हरिनास र अर्जुनचौपारी गाउँपालिकामा समान दुई–दुईवटा योजना छन् । कालीगण्डकी गाउँपालिकामा एउटामात्रै योजना कार्यान्वयनमा रहेको उनले जानकारी दिए । (रासस)