नेपालमा कृषि क्षेत्रबाट तत्काल ६० लाखलाई रोजगारी दिन सकिन्छः वामदेव गौतम


काठमाडौं – राष्ट्रिय सभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले मुलुकमा कृषि क्षेत्रबाट तत्काल ६० लाख मानिसलाई रोजगारी दिन सकिने दाबी गरेका छन् । सांसद गौतमले नेपालमा तत्काल रोजगारीको अवसर दिने क्षेत्र कृषि भएको जिकिर गर्दै यसबाट हरेकले महिनामा तत्कालै ५०/६० हजार आम्दानी गर्ने भएकाले यो क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।

सोमवार संघीय संसद, राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले कृषि क्षेत्रको योजनावद्ध विकास हुन नसक्दा काम गर्ने जनशक्ति विदेश पलायन हुन बाध्य भएको पनि बताए। सांसद गौतमले नेपालमा विश्वमा नै नभएको सबै खालको खेतीबाली उत्पादन गर्ने जमिन भएकाले जनसंख्या व्यवस्थापनसहित मुलुकको आर्थिक क्षेत्रमा उलटफेर ल्याउन कृषि क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने धारणा राखे ।

उनले भने,‘हामीले तुरुन्तै रोजगारी दिने क्षेत्र भनेको त्यही कृषि हो । मैले लामो समयदेखि यो कृषि क्षेत्रमा काम गरेको हुनाले हामीले अहिले भर्खरै ६० लाखलाई योजनावद्ध रुपले रोजगारी दिनसक्छौं।’ साथै उनले कृषि क्षेत्रलाई धान मात्रै होइन, दुध ,अण्डा, मासु, माछा उत्पादन वृद्धि गर्न आवश्यक रहेको औल्याए । (न्युज एजेन्सी नेपाल)