काठमाडौं – सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपाल प्रसाद भट्ट नियुक्त भएका छन्। आज बसेको मन्त्रीपरिषद् बैठकले उनलाई सेबोन अध्यक्षमा नियुक्त गरेको हो।
उनले बैंकिङ्ग नियमन, वित्तीय व्यवस्थापन र सुपरिवेक्षण क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव बटुलेका छन्। डा. भट्टकाे परिचय राष्ट्र बैंकका अनुभवी नियामक मात्र नभई पुँजी बजारका अनुसन्धानकर्ताका रूपमा पनि छ।
राष्ट्र बैंकमा कार्यरत रहँदा उनले बैंक सुपरिवेक्षण विभाग, वित्त कम्पनी सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग, वित्तीय व्यवस्थापन विभाग, सार्वजनिक ऋण व्यवस्थापन विभाग र मानव संसाधन व्यवस्थापन विभागजस्ता महत्त्वपूर्ण विभागको नेतृत्व सम्हालेका थिए। उनको सबैभन्दा ठुलो विशेषता भनेको पुँजी बजारसँग सम्बन्धित शैक्षिक अध्ययन हो।
उनले ‘नेपालमा धितोपत्र बजारको प्रभावकारिता’ विषयमा विद्यावारिधि गरेका छन्। साथै, शेयर बजार र आर्थिक वृद्धिबीचको सम्बन्धबारे उनको अनुसन्धान सेबोनको जर्नलमा प्रकाशित भइसकेको छ। भट्टको अध्ययनले नेपालको पुँजी बजार आर्थिक वृद्धिसँग जोडिए पनि अझै कमजोर र संरचनागत समस्याबाट ग्रसित रहेको निष्कर्ष निकालेको थियो।
यही कारण उनी पुँजी बजारलाई दीर्घकालीन संस्थागत सुधार, लगानीकर्ता संरक्षण र वास्तविक क्षेत्रका कम्पनीहरूको सहभागितासँग जोडेर हेर्ने विज्ञका रूपमा चिनिन्छन्। हाल उनी विभिन्न विश्वविद्यालय र कलेजमा लगानी व्यवस्थापन, सुरक्षा विश्लेषण, पोर्टफोलियो व्यवस्थापन, वित्तीय डेरिभेटिभ्स, मर्जर तथा एक्विजिसन र कर्पोरेट पुनर्संरचनाजस्ता विषय अध्यापन गरिरहेका छन्।






About Us
प्रतिक्रिया